भैरेको कथावस्तु कस्तो ? दर्शकले दिए यस्तो प्रतिक्रिया

title
सोमवार, साउन ७, २०७५

काठमाडौं– गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘भैरे’ले आक्रामक व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ । चलचित्र प्रदर्शनको आज चौथो दिनसम्म आइपुग्दा चलचित्रले राम्रै व्यापार गरेको जनाइए पनि आधिकारिक रिपोर्ट भने सार्वजनिक भएको छैन ।

चलचित्रले प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको भए पनि निर्माण पक्षको भनाइलाई मान्ने हो भने दोस्रो र तेस्रो दिन हाउसफूल व्यापार गरेको हो । हुन त शनिबार सार्वजनिक विदा र दर्शकको माउथ पब्लिसिटीका कारण पनि दर्शकहरु हलसम्म पुगेका हुनसक्छन् ।

गत शुक्रबारबाट प्रदर्शनमा आएका तीन चलचित्रमध्ये भैरे अगाडि देखिएको स्वयं हल सञ्चालकहरुले समेत बताएका छन् । दुई दिनको सफलतासँगै निर्माण पक्षले काठमाडौंमा आइतबार प्रिमिय शो को आयोजना गरेको थियो । प्रिमियर शोमा कलाकारका साथमा दर्शकले चलचित्र हेरे । चलचित्र निकै नै राम्रो बनेको प्रतिक्रिया दिए । दर्शकको प्रतिक्रियाबाट निर्माण पक्षले यतिबेला दंग देखिएको छ भने उनीहरुलाई हल–हलमा पुग्न पनि भ्याइनभ्याइको अवस्था रहेको छ ।

चलचित्रमा बाल्याकालको प्रेम, संघर्ष, परिश्रम, साथीभाइको आघात प्रेम र युवाहरु वैदेशिक रोजगारीमा जाँदा पाएको संघर्ष तथा यता घरपरिवार विग्रिएको कथालाई मार्मिक तवरले देखाइएको छ । चलचित्रको लोकेशन चयन पनि उत्कृष्ट छ । बाल मस्तिष्कमा उब्जिएको उद्बेग तथा जानी–नजानी गरेको गल्ती र पश्चातापको पाटोलाई पनि बढो मार्मिक तवरले प्रस्तुत गरिएकोे छ ।

त्यतिमात्र नभएर साथीप्रतिको माया र बाबुआमाले छोराछोरीलाई गर्ने मायाको भावलाई पस्किँदाको कथा–व्यथालाई मनन गर्ने हो भने चलचित्र हेर्ने दर्शक जो कोहीको आँखा रसाउँछन् नै । आत्मस्वाभिमान खोज्दा र आत्मकुण्ठित भएको प्रेम नपस्किँदा गरेको संघर्षले सफलता मिले पनि जीवन–जीन्दगीको पाटो जिउने क्रमको उतारचढावलाई पनि प्रष्ट्याइएको छ ।

केही दिन अघि पत्रकारहरुसँगको अन्तक्रियामा चलचित्रका नायक दयाहाङ राई अर्थात ‘भैरे’ले भनेका थिए– ‘फिल्म हेरिरहँदा दर्शकले आफ्नै कथा हेरे झैँ महशुस हुन्छ ।’ वास्तवमा चलचित्रको कथावस्तु वास्तविक जीवनमा घटेको घटनाकै पेरिफेरिमा घुमेको छ । बाल कलाकार अनुभव रेग्मीको अभिनयको सबैले तारिफ गरेका छन् ।

अभिनेता दयाहाङ राई नायिका सुरक्षा पन्तको जोडी पनि जमेको छ । यता बुद्धि तामाङ र वर्षा सिवाकोटीको जोडीले पनि चलचित्र नसकिउन्जेलसम्म दर्शकलाई मनोरञ्जन प्रदान गरिरहन्छन् । विक्रान्त बस्नेत र जान्वी बोहराको रोल पनि समाजलाई सचेत गराउने र पाठ सिकाउने खालकै छ ।

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको ‘भैरे’का निर्माता प्रेम प्रसाद पौडेल हुन् । चलचित्रमा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत सह–निर्मातामा छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादन बनिष शाहले गरेका हुन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस चलचित्रमा दयाहाङ्ग, सुरक्षा, वर्षा, बुद्धि र विक्रान्तका अलावा सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतको अभिनय छ ।