भैरेलाई टक्कर दिँदै पण्डित बाजेको लौरी

title
शुक्रबार, साउन ४, २०७५

काठमाडौं– असार महिनाभर रसिया विश्वकपको मारमा परेको नेपाली चलचित्र क्षेत्र त्यसपछि पनि निरन्तर ओरालोमा रहेको छ । प्रदर्शनमा आएका चलचित्रले आशातित व्यापार गर्न सकेका छैनन् । गत साता चार चलचित्र प्रदर्शनमा आएका थिए । केही चलचित्रले एक साताको व्यापार गरेपनि केही भने चाँडै नै हलबाट उत्रिए । गत साताजस्तै यो साता पनि चार चलचित्रको भिडन्त पक्का भएको छ ।

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबारबाट तीन वटा चलचित्र प्रदर्शनमा आएका छन् । दीपक ओली निर्देशित ‘पण्डित बाजेको लौरी’, दयाहाङ राई, बुद्धि तामाङ, वर्षा सिवाकोटी अभिनित सिनेमा ‘भैरे’ र सिर्जना सुब्बा, अर्पण थापा, ऋचा शर्मा अभिनित सिनेमा ‘चक्कर’ प्रदर्शनमा आएका हुन् ।

यी चलचित्रमध्ये कुन चलचित्रको बक्स अफिसमा सफलता बटुल्ने हो दुई दिनको व्यापारिक रिपोर्टबाट थाहा हुनेछ । गत साता प्रदर्शनमा आएका बिरंगना र बोबीले औसत व्यापार गरेको बुझिएको छ । यो साता प्रदर्शनमा आएका पण्डित बाजेको लौरी र भैरेको कडा टक्कर हुने देखिएको छ ।

‘पण्डित बाजेको लौरी’को बुधबार साँझ चावाहिलस्थित केएल टावरमा प्रिमियर आयोजना गरिएको थियो । बादी प्रथा र पण्डित्याइँ परम्परा दुवैलाई मिश्रण गरेर प्रस्तुत गरिएको सिनेमालाई प्रिमियिरमा उपस्थित सबैबाट प्रशंसा पाएको थियो । सिनेमामा बादी महिलाको भूमिकामा नायिका सन्ध्या केसी र उनका पतिको भूमिकामा कलाकार विजय बराल प्रस्तुत भएका छन् । यस्तै पण्डित बाजेको मुख्य भूमिकामा प्रविण खतिवडा प्रस्तुत भएका छन् ।

सिनेमामा मरिष्का पोखरेल, भोलाराज सापकोटा, प्रमोद अग्रहरी, कुलदीप अधिकारी, अनुपमा भण्डारी, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको छ । फिल्मको कथा, निर्देशन र कलाकारको प्रस्तुति उत्कृष्ट रहेको प्रिमियरमा सहभागीको प्रतिक्रिया रह्यो । सिनेमाका कालाकारहरुले आफ्नो भूमिकालाई न्याय दिलाएको प्रतिक्रिया पाएको छ । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको चलचत्रिले प्रदर्शन प्रश्चात भने कस्तो प्रतिक्रिया पाउने हो त्यो जानकारी पाउन केही दिन कुर्नैपर्छ । तर, पनि चलचित्रले सफलता हात पार्नेमा निर्माण पक्ष ढुक्क देखिएको छ ।

त्यस्तै आजबाट नै प्रदर्शनमा आएको अर्को चलचित्र भैरेको पनि राम्रै प्रतिक्रिया मिलेको छ । चलचित्र युनिटले आइतबार प्रिमियर आयोजना गर्ने भने पनि यसअघि सार्वजनिक गीत, ट्रेलरका कारण दर्शकको साथ पाउने निर्माण पक्षको अपेक्षा हो । निर्माण टोलीले विहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रका विषयमा जानकारी दिएको थियो । माथिल्लो मुस्ताङ तथा लोमान्थाङ क्षेत्रमा निकै नै कठिनतापूर्वक चलचित्रको छायांकन गरिएको निर्माण पक्षले जनायो । उक्त छायांकनका क्रममा कलाकारले व्यहोर्नुपरेका कष्टका विषयमा पनि नायक बुद्धि तामाङ तथा दयाहाङ राईले जानकारी दिएका थिए । निर्माण पक्षले ‘भैरे’को प्रचारप्रसारमा कुनै कसर बाँकी राखेको छैन ।

पत्रकार सम्मेलनमा चलचित्रका सम्पूर्ण कलाकार उपस्थित थिए । कार्यक्रममा नायक दयाहाङ राइले यो चलचित्रमा काम गर्दा निकै गाह्रो भएको र अहिले प्रतिफल आउन लाग्दा उत्साहित पनि भएको बताए । उनले भने–‘म सधै देशको कथा बोल्ने चलचित्र गर्न चाहन्छु । यसैले ‘भैरे’ मेरो टाइपको चलचित्र हो ।’ अर्का कलाकार बुद्दि तामाङले यो चलचित्रले नेपाली परिवेशको कथा बोल्ने भन्दै अर्गानिक बिषय उठाइएको बताए ।

चलचित्र ‘भैरे’मा काम गर्दा जाडोले निकै सताएको अनुभव नायिका बर्षा सिवाकोटीले राखिन् । उनले भनिन् ‘यो चलचित्रमा काम गर्दा निकै दुख पनि भयो । तर, यसको कथावस्तु मन परेकाले नै म काम गर्न तयार भएको हुँ ।’ चलचित्रले देशमै केही गर्न सकिन्छ भन्ने कथालाई उठान गरेको अर्की नायिका सुरक्षा पन्तको तर्क थियो । उनले पनि चलचित्रको कथावस्तु निकै पावरफूल रहेको बताइन् । अर्की नायिका जान्वी बोहराले चलचित्रमा काम गर्दा रमाइलो भएको भन्दै आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने सुनाइन् । एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको हो ।

त्यस्तै अर्को लेस्वियनको भूमिकामा लुटकी पुतली अर्थात सिर्जना सुब्बालाई प्रस्तुत गरिएको सिनेमा ‘चक्कर’ प्रदर्शनमा आएको छ । यो चलचित्रको प्रचारप्रसारलाई खासै नभए पनि चलचित्र कत्तिको चल्ने हो त्यो पनि यसै भन्न सकिने अवस्था छैन । चलचित्र धेरै बन्नु नेपाली चलचित्र क्षेत्रका लागि सुखद् पक्ष भए पनि एउटै मितिमा धेरै चलचित्र जुधाइनु निर्माता, निर्देशक मात्र नभएर कलाकारका लागि पनि दुखद् पक्ष हो । चलचित्रले राम्रो व्यापार नगरेको खण्डमा त्यसको प्रत्यक्ष असर कलाकारमा पर्नेमा द्विविधा छैन ।