
बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको घटनामा छानबिन गर्न संसदीय समिति गठनको माग गरिएको छ ।
बागमती प्रदेशसभाका विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीले मन्त्री श्रेष्ठको राजीनामा पनि मागेका छन् । आज बिहीबार ३ दलले संयुक्त विज्ञप्ति जारी गर्दै थापाको अकल्पनीय मृत्युको घटनालाई रहस्यमय बनाएको जनाएको छ ।
मृतकको स्वलेख (सुसाइड नोट), सहकारी सम्बन्धी बाहिरिएको अडियो रेकर्डमा मन्त्री श्रेष्ठलगायत नेताहरुको समेत नाम सुनिएको र सोही कारण बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको घटना रहस्यमय बनेको माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बताए ।
विज्ञप्तिमा ढकालसहित राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङ र एकीकृत समाजवादी संसदीय दलबाट वसन्तप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् ।
‘रवि थापाको मृत्युको घटनाको सबै पक्षबाट छानबिन हुन अत्यन्त जरुरी छ । हामी यस घटनाको निष्पक्ष छानबिनका लागि सहज वातावरण निर्माण गर्न मन्त्री श्रेष्ठको राजिनामा माग गर्दछौं’, माओवादी प्रमुख सचेतक ढकालले भने । घटनाको प्रदेश स्तरमा संसदीय छानविन समिति बनाई वास्तविकता बाहिर ल्याउनुपर्ने माग राखिएको छ ।
गत सोमबार साँझ कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका मन्त्री श्रेष्ठका स्वकीय ३६ वर्षीय थापाको उपचारको क्रममा सोमबार राति नै कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । उनको साथबाट ‘सुसाइड नोट’समेत फेला परेको छ ।
थापाको मृत्युको पछाडि काठमाडौंको सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड सहकारीसँगको घटना जोडिएको छ । मृत्यु प्रकरणमा सहकारी र सार्वजनिक भएको अडिओसम्बन्धी विषय रहेको हुनसक्ने आशंका गरिएको छ ।
प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले २८ पुस ०८१ मा सुमेरुसहित तीन वटा सहकारीलाई समस्या ग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त घोषणा भएपछि मन्त्रालय मातहतका निकायले बचतकर्ता को उजुरी उपर छानबिनलगायतका काम अगाडि बढाएको थियो ।
समस्याग्रस्त सहकारी घोषणा भएको सुमेरुमाथिको छानबिन रोक्न र सहकारीमा हिनामिना भएको ठूलो रकमको रेकर्ड मेटाउन सहकारीका पूर्वपदाधिकारी र स्वकीय सचिव थापाबीच फोनमा भएको कुराकानी बाहिरिएको थियो ।
अडिओमा हाल मृत्यु भएका थापाका साथै धादिङका राजु बर्तौला र ललितपुरको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका तत्कालीन सचिव विनोद आचार्यबीच कुराकानी भएको मन्त्री श्रेष्ठ बताउँछन् ।
आर्थिक लेनदेनसहितको थापा र सहकारीका आचार्यबीच कुराकानी भएको अडियो बाहिरिएपछि थापाले आफूलाई फसाउन लागिएको भन्दै पत्र लेखेर विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।