मन्त्री महासेठ नआएपछि विकास समितिको बैठक स्थगित

title
सोमवार, चैत्र ४, २०७५

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित नभएपछि संघीय संसदको विकास तथा प्रविधि समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।

बहुबर्षीय आयोजनाको कामबारे जानकारी लिने उद्देश्यका साथ बोलाइएको विकास तथा प्रविधि समितिको आज(सोमवार)को बैठक मन्त्री महासेठ अनुपस्थित भएपछि बस्दै नबसी स्थगित गरिएको हो । समितिको बैठकमा बहुवर्षीय आयोजनाको काम रोकिनुको कारणबारे जानकारी लिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ र अर्थमन्त्री डा. युवराज खतिवडालाई बोलाइएको थियो । तर मन्त्री महासेठ अनुपस्थित भएपछि बैठक स्थगित गरिएको थियो ।

१२ बजेका लागि बोलाइएको बैठकमा मन्त्री महासेठ अनुपस्थित भएपछि बैठक स्थगित गर्नु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनु भयो ।यता, समितिका सदस्यहरुले भने महत्वपूर्ण विषयमा छलफल गर्न बोलाइएको बैठकमा मन्त्री महासेठ अनुपस्थित भएकोमा आपत्ति जनाएका थिए ।

बैठकमा आधाघण्टा ढिलो गरी उपस्थित हुनुु भएका अर्थमन्त्री खतिवडाले भने मन्त्रीहरुको कार्यव्यवस्तालाई बेवास्ता गर्दै समितिको बैठक बोलाउने गरेको भन्दै गुनासो गर्नु भएको थियो । उहाँले राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा उपस्थित भएर आउँदा समितिको बैठकमा आउन केही ढिलाई भएको पनि स्पष्टिकरण समितिलाई दिनु भएको थियो ।