मलेसियामा सागर चम्किएपछि…

title
सोमवार, साउन २८, २०७५

काठमाडौं । नेपाली खेलाडीद्वय सागर पुन र आसिफ शेख सम्मिलित क्वालालम्पुरले मलेसियन प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा युनिभर्सिटी केबान्गसान मलेसियालाई ७ विकेटले पराजित गर्दै क्वालालम्पुर उपाधि चुम्न सफल भएको हो ।

किनरारा एकेडेमी ओभलमा १ सय २ रनको सामान्य लक्ष्य क्वालालम्पुरले २५.३ ओभर खेल्दै ३ विकेट गुमाएर पुरा ग¥यो । क्वालालम्पुरको जितमा कप्तान अहमद फैजले नटआउट ४५ रन बनाउँदा आसिफ शेख ३३ रनमा नटआउट रहे ।

आसिफले २६औँ ओभरको दोस्रो र तेस्रो बलमा लगातार चौका प्रहार गर्दै जित दिलाए । ओपनर सागर पुनले १० रन जोडेका थिए । त्यसअघि युनिभर्सिटी केबान्गसानलाई क्वालालम्पुरले २६ ओभरमा १ सय १ रनमै अलआउट गरेको थियो ।

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान नेपालका सागर पुन घोषित भए । उनले प्रतियोगितामा २ शतक प्रहार गरे भने १ अर्धशतक बनाएका थिए । उनले पहिलो र दोस्रो शतक सेलंगोरविरुद्ध नै प्रहार गरेका थिए । सागरले १० खेलबाट ४५२ रन बनाएका छन् । जसमा ५३ चौका र ८ छक्का प्रहार गरेका छन् । सागरले ९ विकेट समेत लिएका छन् । १० खेलबाट २ सय १९ रन बनाएका आसिफ सर्वाधिक रन बनाउनेको सूचीको सातौँ स्थानमा रहे ।

त्यसो त यी नेपाली खेलाडी राष्ट्रिय क्रिकेट टोलीका सदस्य हुन् । उनीहरुले नेपाली राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरेकै कारण मलेसियामा अवसर पाएका हुन् । त्यतिमात्र नभएर सागर नेपालका अलराउण्डर खेलाडी पनि हुन् ।