महिलामा हुने विभेद व्यावहारिक रुपमा अन्त्य गरीनुपर्छ : मन्त्री बाँस्कोटा

title
बिहिबार, बैशाख १२, २०७६

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिनुभएको छ ।

‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आज काठमाडौमा गरेको कार्यक्रममा उहाँले कानूनीरुपमा महिलामा विभेद नभए पनि यसले व्यावहारिक रुप लिन नसकेकाले सरकार र सरोकारवाला संघ संस्थाले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सूचना, सञ्चार र प्रविधिको सदुपयोग गरेर योे क्षेत्रमा महिलाको बढी भन्दा बढी सहभागिता हुनुपर्नेमा जोड दिँदै उहाँले भ्रष्टाचार अन्त्यका लागि पनि यस क्षेत्रमा महिलाको सहभागितामा वृद्धि गर्नुपर्ने बताउनुभयो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’को अभियानलाई साकार बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा सूचना र प्रविधिको क्षेत्रमा योगदान पु¥याउने विभिन्न संघ संस्थालाई सम्मान गरिएको थियो ।