महिलाहरुको आत्मरक्षाका लागि कराते शिविर

title
आइतवार, अशोज २१, २०७५

कैलाली । धनगढीको कवर्ड हल मैदानमा शनिबार आत्मरक्षाको तालिम लिन ठूलो संख्यामा महिला र किशोरी उपस्थित भए । राष्ट्रिय गोजोरियो कराते डो संघको पहलमा महिला र किशोरीलाई आत्मरक्षा सम्बन्धी शिविरको कार्यक्रम सञ्चालन गरिएको थियो । विभिन्न विद्यालयमा पढ्ने किशोरीका साथै गृहणी महिला स्वस्फूर्त रुपमा मैदानमा जमघट भएका थिए ।

पहिलो पटक गरिएको नयाँ खालको यो अभियानप्रति सबैको उत्सुकता र चासो पनि बढेको देखिन्थ्यो । महिलाको आत्मसुरक्षाका लागि आयोजित यो शिविर नौलो अभ्यास भएकाले पनि सबैको उत्सुकता बढेको हो । प्रतिकार गरेपछि महिला स्वयम्ले आफ्नो रक्षा गर्न सक्छन् भन्ने सोचले आयोजना गरिएको शिविरमा आफूहरु आत्मविश्वासका साथ आएको सहभागीहरुले बताए ।

शिविरमा सहभागी हुनेमध्ये उत्कृष्ट हुने एकसय जनालाई छनोट गरी प्रशिक्षक बनाउने योजना आयोजकको छ । एक हप्तासम्म सञ्चालन हुने शिविरमा किशोरी र महिला गरी झण्डै एक हजार महिला छन् । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट यो अभियानवाट किशोरी र महिला ‘किक हान्न’ सक्षम भइ स्वयं आफ्नो र समाजको सुरक्षाका लागि सक्षम हुने विश्वास व्यक्त गरिन् ।

महिला मानवअधिकार रक्षक सञ्जाल धनगढीकी वसन्ती चौधरीले भनिन् ‘कसैबाट महिलामाथि नराम्रो दुव्र्यवहार भएमा उसले कसरी सुरक्षित हुने भन्ने शारीरिक सीप यो तालिममा सिकाइने छ ।’ महिला हिंसामा परी हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त लगायतको सम्झनामा मौन धारण गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शिविरको उद्घाटन गरे ।

सो अवसरमा उनले महिलाको स्वाभिमान बचाउने र आत्मरक्षाका लागि गरिने अभियानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले समाजमा जनजागरण फैलाउन यस्ता अभियानले सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।