महिला फुटबल : आजबाट क्वार्टरफाइनलका खेल

title
शुक्रबार, मंसिर ७, २०७५

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानसेनापति कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पुलिसले बिहीबार प्रदेश नम्बर ६ माथि ९–० को फराकिलो जित हासिल गरेको छ ।

उमन अफ दी म्यान निरु थापाको चार गोल प्रेरणामा पाएको यो जितपछि पुलिस प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ । क्वार्टरफाइनलमा पुलिसले भारत सिक्किमको पाहुना टोलीसँग प्रतिस्पर्धा गर्नेछ । पाँचौं मिनेटमा अग्रता दिलाएकी निरुले ४७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् । ७८औं मिनेटमा व्यक्तिगत ह्याट्रिक पूरा गरेकी उनले इन्जुरी समयको तेस्रो मिनेटमा चौथो गोल गर्दै पुलिसको जितअन्तर थप फराकिलो पारिन् ।

४९औं मिनेटमा विपक्षी टोलीकी सिर्जना सिंहको आत्मघाति गोलबाट पुलिसको अग्रता ३–० ले फराकिलो भएको थियो । पुलिसका लागि सुवानी कुसवाहले ५३, निर्मला उपाध्यायले ५६, सिर्जना खड्काले ६० तथा रुपा मगरले ८८औं मिनेटमा गोल थपेका थिए ।

यसैबीच विहीबार नै भएको अर्को खेलमा प्रदेश २ ले पनि शानदार जित हात पारेको छ । लगनखेल स्थित सैनिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको खेलमा प्रदेश दुईले प्रदेश पाँचलाई आठ शुन्य गोलअन्तरको फराकिलो जित दर्ता गरेको हो ।

उसका लागि दिलकुमारी राना मगर र रोशनी लिम्बुले दुई दुई गोल गरे भने एक गोल मेनुका राना मगरले गरिन् । प्रतियोगिता अन्तर्गत शनिबारबाट क्वार्टरफाइनलका खेल हुनेछन् । पहिलो खेल एपीएफ र प्रदेश तीन तथा आर्मी र सुदुरपश्चिम प्रदेश आमने–सामने हुनेछन् ।