महिला भलिबल लिग असोजमा हुँदै

title
बुधबार, भदौ २०, २०७५

काठमाडौं । महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ । नेपाल भलिबल संघ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन लागेको हो ।

उक्त प्रतियोगिता राखेपको कभर्डहलमा असोज १३ देखि १७ गतेसम्म हुने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्केज र न्यु डायमण्ड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको समूह ‘ए’ मा चितवन, न्यु डायमण्ड र आर्मी तथा समूह ‘बी’मा पुलिस, एपिएफ र पोखरा छन्। लिगको विजेताले रु ६ लाख, उपविजेताले रु ३ लाख तथा तेस्रो हुनेले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । यो भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटरसहित रु ५० हजार पुरस्कार दिइनेछ ।

प्रतियोगितामा सहभागी टोलीले तीनरतीन विदेशी खेलाडीसमेत राख्न पाउने महासचिव चन्दले जानकारी दिए। प्रतियोगिता आयोजना गर्न संघ र आधीअबाधीबीच गत साउन १७ गते १० वर्षका लागि सम्झौता भएको थियो । सो सम्झौताअनुसार आधीअबाधीले नेपाल भलिबल संघलाई प्रत्येक वर्ष रु १५ लाख प्रदान गर्नेछ ।