महिला राष्ट्रिय लिगको उपाधि भिडन्त आज

title
मङ्लबार, साउन १५, २०७५

एपीएफ र आर्मी आमनेसामने
काठमाडौं । राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र आर्मीको त्रिभुवन आर्मी क्लब आमने–सामने हुँदैछन् । खेल एन्फा मैदान सातादोबाटोमा हुनेछ ।

उपाधिको दावेदार मानिएको विभागीय टोली नेपाल एपिएफ क्लब आइतबार भएको खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै लिगको उपाधि नजिक पुगेको हो । लगातार तेस्रो जित हात पारेको एपीएफको अब लगको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

उक्त खेलमा जित हात पारे एपिएफ लिग च्याम्पियन बन्नेछ । एपिएफ र आर्मीको समान ९ अंक छ । गोल अन्तरमा आर्मी दोस्रो स्थानमा छ । यसैबीच, त्रिभुवन आर्मी क्लब पनि जितलाई निरन्तरता दिँदै उपाधि नजिक पुगेको छ । आर्मीले आइतबार रौतहटलाई ३–१ ले हराउँदै लिग जित्ने सम्भावनलाई बलियो बनाएको हो । आर्मीले यसअघि नेपाल पुलिस क्लब र काठमाडौंलाई पराजित गरेको थियो ।