महिला लिग भलिबलमा चितवन च्याम्पियन

title
बिहिबार, अशोज १८, २०७५

अरुणा उत्कृष्ट खेलाडी घोषित
काठमाडौं । महिला भलिबलको नम्वर एक टोली विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गर्दै चितवन टाइग्रेसले आदी–आवादी महिला भलिबल लिग (एभीएल)को उपाधि जितेको छ । तीन अमेरिकी र अधिकांश पोखराका खेलाडी समावेश रहेको चितवनले एपीएफमाथि ३–० को सहज जित निकाल्दै उपाधि हात पारेको हो ।

त्रिपुरेश्वरपस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार भएको एकपक्षीय खेलको पहिलो सेटमा २५–२० को सहज जित निकाल्दै एपिएफलाई दवाव दएको दोस्रो सेटमा शुरुवाती अग्रता चितवनले लिए पनि एपीएफले उत्कृष्ट पुनरागमन गर्दै ४ अंकको अग्रता लिएपनि विदेशी खेलाडी सम्मिलित चितवनमाथि त्यो अग्रतालाई कायम राख्न सकेन ।

अरुणा शाहीको उत्कृष्ट प्रदर्शन प्रेरित चितवन टाइगर्सले एपीएफलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्न सफल भयो । पहिलो सेट प्रतिस्पर्धात्क रुपमा हारेको थियो तर बाँकी दुई सेटमा चितवनले सहजै आफ्नो पक्षमा पा¥यो । एपीएफ २५–२०, २५–१७, २५—११ को सेटमा पराजित भयो । पहिलो पटक फ्रन्चाइजी क्लब बनाएर गरिएको प्रतियोगिताको उपाधि जितेपछि चितवनकी कप्तान मञ्जु गुरुङले फाइनल सोचेजस्तोे प्रतिस्पर्धात्मक हुन नसकेको बताइन् ।

विजेता चितवनले ६ लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ । चितवनकै अरुणा प्लेयर अफ दी टुनामेन्ट घोषित भइन् । प्लेयर अफ दी म्याच समेत बनेकी अरुणाले ५० हजार रुपैयाँ नगदसहित स्कुटर पुरस्कार जितिन् । उपविजेता एपीएफले ३ लाख रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको न्यु डायमण्डले १ लाख ५० हजार रुपैयाँ हात पारेको छ ।

चितवनसँग पराजित भएपनि एपीएफकी कप्तान विनिता बुढाथोकीले अमेरिकी खेलाडीबाट आफूहरुले सिक्ने मौका पाएको बताइन् । उनले भनिन् ‘विदेशीहरुबाट केही सिक्ने अवसर पायौं । हामीले राम्रो खेल्ने प्रयास गरेका हौं । तर, नतिजा निकाल्न सकेनौं ।’ घरेलु प्रतियोगितामा प्रायजस्तो उपाधि उचालेको एपिएफकी कप्तान विनिताले हारे पनि आफ्नो लय नखस्किएको दावी गरिन् ।

बुधबारै फाइनलअघि भएको खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लब ३–० को सेटमा हराएको हो । पहिलो सेट २५–१८ ले जितेको डायमण्डले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट पनि डायमण्डले २५–१९ ले जित्यो । विजयी चितवनको अमेरीकी प्रशिक्षक कोरी सोलोमनले नेपाली खेलाडीको प्रशंसा गरिन् । उनले फाइनलको प्रतिद्वन्द्वी एपीएफले राम्रो खेले पनि स्पाइक राम्रो नहुँदा पराजित हुनुपरेकोे बताइन् ।

यसैबीच, चितवन टाइग्रेसकी अरुणा शाही सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । चितवनलाई भलिबल लिगको उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकी उनले सर्वोत्कृष्ट खेलाडी घोषित हुनुकासाथै अरुणाले एक थान टिभिएस स्कुटीका साथै र ५० हजार रुपैया प्राप्त गरिन् ।

उनलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले चेक तथा स्कुटीको चावी हस्तान्तरण गरे । काँधमा चोट लागेका कारण ओपन स्पाइकर अरुणा पछिल्लो समय सेटरको रुपमा देखिएकी छिन् । गत जेठमा भएको एनभिए क्लब लिग भलिबलमा पनि अरुणाले न्यु डायमन्ड एकेडेमीबाट सेटरको भुमिका निभाएकी थिइन् ।