महिला साफ : नेपाल र भारत भिड्दै, कस्ले चुम्ला उपाधी ?

title
शुक्रबार, चैत्र ८, २०७५

विराटनगर, पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । विराटनगरको सहिद रंगशालामा महिला साफ च्याम्पियनसिपको उपाधिका लागि शुक्रबार नेपाल र भारत भिड्न लागेका हुन । दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा भारतसंग पराजित हुँदै आएको नेपालले घरेलु भुमीमा उपाधि रक्षा गर्न चाहन्छ । सुरुवाती तीन संस्करणमा फाईनलमा भारतसंग हारेको नेपालले पछिल्लो संस्करणमा भने सेमिफाईनलमा भारतसंगै पराजित भएको थियो । महिला फुटबलमा दुवै टोली १० पटक भिडेका छन् । जसमा भारत नै हाबी देखिएको छ । खेलिएका १० खेलमा ७ खेल भारतले जितेको छ । दुई खेल बराबरीमा सकिएको छ । पछिल्लो एक खेल नेपालले जितेको थियो । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा खेलिएका ४ खेलमा तीन पटक भारत विजयी भएको भने एक खेल बराबरीमा सकिएको ईतिहास छ । टोकियो ओलम्पिकका लागि भएको छनोट प्रतियोगितामा भने नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका थिए । अघिल्लो महिना भारतमै आयोजना भएको हिरो गोल्डकपमा भने नेपालले भारतलाई २–१ गोल अन्तरले हराएको थियो ।