महिला हिंसा र बलात्कारको घटना नरोकिएको भन्दै संयुक्त महिला सघर्ष समितिबाट विरोध प्रर्दशन

title
शुक्रबार, भदौ ८, २०७५

काठमाडौ । संयुक्त महिला सघर्ष समितिले महिला हिंसा र बलात्कारको घटना नरोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराउन काठमाडौंमा विरोध प्रर्दशन गरेका छन् ।

समितिले आज काठमाडौको सुन्धारमा विरोध प्रर्दशन गर्दै महिला हिंसा र बलात्कारको घटनाका दोषीलाई कडा कारवाही गर्ने कानुन बनाउन समेत माग गरेका छन् । उनीहरु महिला हिंसाका आरोपीहरु खुलेआम हिड्दा समेत सरकारले कानुनी कारवाहीको दायमा ल्याउन नसकेको आरोप लगाएका छन् ।

समितिले मुलुकका भ्रष्टाचारका कारण महङ्गी बढेको भन्दै तत्काल महङ्गी नियन्त्रण गर्दै आम सर्वसाधारणलाई महङ्गीको मारबाट मुक्त गर्नुपर्ने जनाएको छ । त्यस्तै सहभागीहरुले अहिले मुलुकमा अस्वभाविक कर बृद्धि भइरहेको भन्दै सरकारविरुद्ध नारावाजी गरेका थिए । अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुनले जनताको जनजिविकाका मुद्धामा सरकार मौन देखिएको भन्दै विरोध गरिएको जानकारी दिनुभयो ।

उनीहरुले आफुहरुले उठाएको मुद्धामा सरोकारवालापक्ष गम्भीर नभए थप विरोधका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । सघर्ष समितिमा नेपाल महिला संघ, महिला शक्ति महासंघ नेपाल, नेपाल प्रगतिशिल महिला संघ लगाएत आवद्ध छन् ।