मह जोडीको ‘दाल भात तरकारी’मा स्वस्तिमाले छाडिन्, आँचलको इन्ट्री

title
मङ्लबार, कार्तिक २७, २०७५

काठमाडौं । चर्चित हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्माण गर्न लागेको चलचित्र ‘दाल भात तरकारी’मा आँचल शर्माको आगमन हुने भएको छ । मुख्य कलाकारका रुपमा रहेकी स्वस्तिमा खड्काले कार्य व्यस्तताका कारण चलचित्रमा काम नगर्ने जनाएसँगै उनको ठाउँमा आँचललाई अनुबन्ध गरेको निर्माण पक्षले जानकारी दिएको छ ।

सुदन केसीको निर्देशनमा बन्न लागेको चलचित्र मङ्सिर १ गते बाट फ्लोरमा जाँदैछ । चलचित्र ‘दाल भात तरकारी’ मह संचार र किरण केसीले निर्माण गर्दैछन् । चलचित्रमा हरिवंश आचार्य र निरुता सिंहको मुख्य भूमिका रहेको छ भने चलचित्रमा पुष्पल खड्का, बर्षा राउत, प्रियंका कार्कीको पनि मुख्य भूमिका रहनेछ ।

चलचित्र ‘शत्रु गते’ पश्चात आंचल शर्माले हुल मूलका चलचित्रमा काम नगर्ने बताएकी थिइन् तर उनि मल्टी स्टारर चलचित्र ‘दाल भात तरकारी’ मा काम गर्दैछिन् । त्यसो त चलचित्रमा सवैभन्दा पहिले स्वस्तिमाकै इन्ट्री भएको थियो ।

त्यसो त मह जोडीले पछिल्लो पटक निर्माण गरेको चलचित्र शत्रुगतेले नेपाली चलचित्रमा आशालाग्दो व्यापार गरेको थियो । चलचित्रको रुपै मोहनी बोलको गीतले पनि राम्रै बजार तताएको थियो । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको थियो ।

चलचित्र ‘शत्रु गते’ बम्पर हिट भएपछि यसको निर्माण पक्षले निर्देशक र केही कलाकार हेरफेर गर्दै कमेडी कथामै चलचित्र ‘दाल भात तरकारी’ बनाउने निर्णय गरेको हो । चलचित्रको निर्माणसँगै यसको प्रदर्शन मिति पनि फाइनल गरिएको छ । यो चलचित्र वि.सं २०७६ सालको वैशाख १३ गतेबाट रिलिज हुने निर्माता किरण केसीले जानकारी दिए ।