माइतिघरमा गुठीयार आन्दोलनकारीले प्रहरीलाई कुटे : गृहमन्त्री थापा

title
मङ्लबार, जेष्ठ २८, २०७६

काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापाले गुठी विधेयकको विरोध गर्ने क्रममा प्रदर्शनकारीले माइतीघरमा प्रहरीमाथी कुटपिट गरेको बताएका छन् ।  माइतिघर घटनाबारे सोमबार प्रतिपक्षले उठाएका सवालको जवाफ दिने क्रममा गृहमन्त्री थापाले प्रहरीको मुख नै क्षतविक्षत हुनेगरी आन्दोलनकारीले बल प्रयोग गरेको दाबी गरे।

गृहमन्त्री थापाले सरकार लोकतन्त्रको रक्षा गर्न पूर्ण प्रतिबद्ध रहेको र नियमविपरित टाउकैमा प्रहार गरियो भन्ने विषय गलत भएको  दावी गरे। ‘प्रदर्शनकारीबाट बल प्रयोग भएको छ। प्रहरी घाइते भएका छन्। शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाइन्छ तर, प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने, इँटा हान्ने उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार भन्दैनौं,’ गृहमन्त्री थापाले भने, ‘त्यस्ता घटना पनि भएका छन्। ती कुराहरुमा छानबिन हुनुपर्छ, राज्यले आवश्यक छानबिन गर्नेछ। दोषीमाथि आवश्यक कारवाही हुनेछ।’ कति प्रहरीको मुख क्षतविक्षत पारिएको छ भन्ने  गृहमन्त्रीले खुलाएका छैनन्।

प्रमुख प्रतिपक्षी कांग्रेसले शान्तिपूर्ण आन्दोलनमा किन दमन गरियो, दमनमा संलग्न प्रहरीलाई छानविन गरी कारवाही गरिन्छ कि गरिदैन भनेर प्रश्न उठाउँदै सोमबारको संसद अवरुद्ध पारेको थियो। त्यही कारण जवाफका लागि गएका गृहमन्त्री थापाले भने प्रहरीले नभएर आन्दोलनकारीले नै बल प्रयोग गरेको र प्रहीको मुख क्षतविच्छेद पारेको बताएका हुन्।

माइतीघर घटनाबारे सरकारले नैतिक जिम्मेवारी लिने उनले बताए। त्यहाँ भएका कमी कमजोरीबारे छानबिन भइरहेको उनले जानकारी दिए।

‘शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने हो कि भन्ने प्रश्न उठेको छ तर तथ्यहरुले ती कुरालाई सावित गर्दैन। दिनदिनै विरोध प्रदर्शन भइरहेका छन्। ती विरोधलाई दमन गर्ने, रोक्ने काम भएको छैन,’ उनले भने, ‘नियमभन्दा विपरित गयो, दमन भयो, टाउकैमा प्रहार भयो, बढी बल प्रयोग भएको भन्ने कुरा आएको छ। तथ्यले यस्तो देखाउँदैन।’

जेठ २६ गते गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन भएको थियो।  विरोध कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका प्राचीन गुठीका गुठियारहरुको सहभागिता थियो। प्रहरीले प्रदर्शनकारीलाई हटाउन पानीको फोहरा, लाठीचार्जसहितको बल प्रयोग गरेको थियो। प्रहरीसँगको झडपमा परी धेरैजना प्रदर्शनकारी घाइते समेत भएका थिए।