माग पूरा नभएसम्म अनशन नतोड्ने अडान (विज्ञप्ति सहित)

title
शुक्रबार, साउन ४, २०७५

काठमाडाैं । डा. गोविन्द केसीले अस्पताललाई युद्धभूमि बनाएर आफूलाई अपहरण शैलीमा काठमाडौं ल्याएको बताएका छन् । उनले आफ्नो इच्छाविपरीत अपहरण शैलीमा ल्याइएको बताउँदै अाफ्ना माग पू्रा नभएसम्म अनशन नताेड्ने अडान जारी राखेका छन् ।
“वर्तमान सरकारले अमानवीयरुपमा क्रुरतापूर्वक सत्याग्रहरीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौं ल्याएको छ,” डा. केसीले बिहीबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरू, चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसनसहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ । त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ । सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु । यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनु हुने नेपालीहरूप्रति आभारी छु । सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । ज्यादतीमा संलग्न हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु । माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु । साथै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु ।

प्रा.डा. गोविन्द केसी शिक्षण अस्पताल,