यसवर्ष नुवाकोटको बेत्रावती र तारुकामा ४७ हल गोरु जुधाइने

title
शनिबार, पुस २८, २०७५

काठमाडौ । परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ ।

रसुवा–नुवाकोट पर्यटन समाजले शनिबार काठमाडौमा पत्रकार सम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिएको हो ।

नुवाकोटको तारुकमा २३, बेतावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भएको सो अवसरमा पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो ।

तारुका गोरु जुधाइ मेला आयोजक समिति सदस्य विष्णु तारुकेले गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको जानकारी दिनुभयो । तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ ।

मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौँ, धादिङका गरी हजारौंको सङ्ख्यामा दर्शकको सहभागिता हुने गर्दछ । यस्तै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पनि गोरु जुधाइ हुने भएको छ । पछिल्लो छ वर्षदेखि बेत्रावतीमा माघे सङ्क्रान्तिमा गोरु जुधाइँदै आएको छ ।