माधव नेपालको कडा आक्रोश– गृहमन्त्री कहाँ छन् ?

title
शुक्रबार, अशोज १२, २०७५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा बलात्कार, एसिड प्रकरण, भ्रष्टाचार, दण्डहीनता, अनुशासनहिनता सरकारको सेवा–प्रवाहमा भएको ढिलासुस्तीले सरकारै नभएको जस्तो परिस्थिति सिर्जना भएको बताएका छन् ।

बजेट अधिवेशन अन्त्यका सन्दर्भमा बोल्दै उनले ‘ मेरो देश डुब्न लाग्यो.. माझी किनार बचाइदेऊ’ गीतसमेत उद्धृत गरे ।

उनले देशैभर बलात्कारका घटना बढेका बढ्यै छन् भन्दै तर अभियुक्त पक्राउ परेका छन् कि छैनन्, मुद्दा चलेका छन् कि छैनन् भनेर जनताले थाहासमेत पाउन नसकेको भन्दै दुःख व्यक्त गरे । सरकारले भ्रष्टाचार गर्दिन भनेरमात्र नहुने भ्रष्टाचार गर्नेलाई दण्डित गर्नुपर्ने धारणा राखे ।

“देशमा भ्रष्टाचार व्याप्त छ, रोक्ने कुनै अङ्ग छ कि छैन ?,” उनको प्रश्न थियो । उनले सरकारले परिणाम दिने गरी काम गर्न नसक्दा जनताको तहबाट आउने ‘जुन जोगी आए पनि कान चिरेको’ जस्ता टिप्पणी सुन्नु परेको धारणा राखे ।

“भ्रष्टचारीलाई शासन–प्रशासनको माथिल्लो निकायमा आउने, राज्यले उसैलाई पुरस्कृत गर्ने अवस्था कहिले अन्त्य हुन्छ ?,” उनको जिज्ञासा थियो । तराईमा खुलेआम देश टुक्र्याउँछु भन्दै हिँड्दा, त्यसको भिडियो बाहिर आउँदा गृहमन्त्री मुकदर्श बनेको भन्दै ‘गृहमन्त्री कहाँ छन् ?’ भनेर प्रश्नसमेत गरे उनले ।