मापदण्ड मिचेर पानीको कारोवार गर्ने उद्योग तथा ट्यांकर माथि कारवाही सुरु

title
शनिबार, भदौ ३०, २०७५

काठमाडौ । खानेपानी मन्त्रालय र त्यस मातहतका कार्यालयका अधिकारीले काठमाडौं र ललितपुरका बिभिन्न क्षेत्रबाट पानीको कारोवार गर्दै आएका ट्यांकरको अनुगमन थालेका छन् ।

खानेपानी मन्त्रालय अन्तर्गत् काठमाडौं उपत्यका खानेपानी बोर्डका ईन्जिनियर वोधराज दाहाल नेतृत्वको टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट मापदण्ड बिपरित्का चार वटा ट्यांकरलाई नियन्त्रणमा लिएको छ ।

टोलीले नेपाल ड्रिङ्क्स प्रालि, गोकर्णेश्वर ग्रुप प्रालि, बनदेवी खानेपानी उद्योग, गंगा खानेपानी उद्योग, कृष्ण खानेपानी उद्योग, सुप्रिया ट्रेडर्स प्रालि, होलिडे टाग र धौलागिरि खानेपानी उद्योग अनुगमन गरेको हो ।

मन्त्री बिना मगर नेतृत्वको टोलीले पनि आजै ललितपुर क्षेत्रका पानी उद्योग र सप्लायर्शको अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा स्टिकर नराखेका ट्यांकर मार्फत जथाभावी पानी बेच्ने र प्रमाण पत्र नदेखाउने उद्योगमा सिल गरिएको छ ।

कृष्ण र गंगा खानेपानी उद्योगमा दर्ताको प्रमाणपत्र नराखेको पाइएपछि सञ्चालकलाई सात दिनभित्र कागज पत्रसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमनका लागि खानेपानी मन्त्रालयका पाँच वटा टोली विभिन्न क्षेत्रमा परिचालित छन् ।