माया र बिछोडको सार नै ‘समर लभ’

title
मङ्लबार, पुस २४, २०७५

काठमाडौं । चलेका पुस्तक तथा कृतीका कथावस्तुलाई चलचित्रका निर्माताहरुले आफ्नो चलचित्रको मुख्य आधार बनाइ चलचित्र निर्माण गर्ने गरेको पाइन्छ । बालकृष्ण समको नाटक प्रेमपिण्डलाई चलचित्रमा उतारियो, लिलबहादुर क्षेत्री बसाई उपन्यासलाई पनि दर्शकले चलचित्रका रुपमा हेर्न पाए, त्यस्तै लक्ष्मीप्रसाद देवकोटाको मुनामदनले पनि चलचित्रको मुर्त रुप पायो त्यस्तै सती प्रथाको कथामा आधारित कृष्ण धारावासीको उपन्यास ‘झोला’ पनि चलचित्रका रुपमा पर्दामा हेर्न पाइयो । बीपी कोइरालाईको तीन घुम्तीलाई पनि दर्शकले पर्दामा हेर्ने मौका पाए ।

यी चर्चित कृतीहरुमा आधारित भएर निर्माण भएका चलचित्रले दर्शकको राम्रै साथ पाए भने समाजमा एक प्रकारको सन्देश दिन समेत सफल भए । अहिले पुनः सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित भएर चलचित्र ‘समर लभ’ निर्माण भएको छ । चलचित्र भ्यालेन्टाइन डे को अवसर पारेर प्रदर्शनमा ल्याउन लागिएको छ । जसका लागि अहिले निर्माण पक्षको व्यस्तता बढेको छ ।

प्रचार प्रसारकै क्रममा रहेको निर्माण पक्षले हालै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ । यसअघि चलचित्रको गीत समेत सार्वजनिक भइसकेको छ । पछिल्लो समय सार्वजनिक भएको ट्रेलरमा प्रेमिल संबादसहित पे्रम विछोडलाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको आभाष भएको छ । त्यसो त उपन्यास पढिसकेकाहरुका लागि चलचित्र कस्तो बनेको छ होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यसो भन्दैमा चलचित्र राम्रो लागेमा एउटै चलचित्र ३–४ पटकसम्म हेर्ने दर्शक पनि हुन्छन् । अझ पुस्तकको कुरा पर्दामा उतार्दा चलचित्र कस्तो बन्यो होला कौतुहलताको विषय पनि बनेको छ ।

‘समर लभ’ माघ २५ देखि प्रदर्शनमा आउँदैछ । नव नायिका रेवती क्षेत्री र नव नायक आशिष पियाले उपन्यासका साया र अतितको भूमिका निर्वाह गरेका छन् । त्यस्तै सुस्मिताको भूमिकामा नम्रता सापकोटाले अभिनय गरेकी छिन् । मुस्कान ढकालले निर्देशन गरेको फिल्ममा रेवती क्षेत्री, आशिष पिया, सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा पुष्पन प्रधानको शब्द तथा संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा कथा लेखन सुविनको रहेको छ भने पटकथा सुविन र सामिप्यराज तिमल्सेना दुबै मिलेर लेखका हुन् ।

मानकृष्ण महर्जनले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरिएको फिल्ममा स्वपन सरकार र मनोज बिक सहनिर्माता, बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । घोषणाको ३ वर्षपछि प्रदर्शनका लागि तयार भएको फिल्मको ट्रेलरमा पुस्तकका केही हृदयस्पर्शी र रमाइला संवादहरुलाई विशेष प्राथमिकता दिइएको छ ।

साया (रेवती क्षेत्री) र अतित (आशिष पिया) बीचको ’लभ जर्नी’ मा ठोकिन पुग्ने सुस्मिता (नम्रता सापकोटा)ले पनि ट्रेलरमा पर्याप्त ठाउँ पाएकी छन् । ट्रेलरमा साया र सुस्मितासँग अतितको लिपलक र बेडसिन हाबी छ । फिल्ममा लेखकको भूमिकामा सुरजसिंह ठकुरी छन् । ‘नाइँ नभन्नू ल ३’ फेम्ड निर्देशक मुस्कान ढकालले यो फिल्म निर्देशन गरेका हुन् । घोषणाकै बेलादेखि पात्र छनौटमा चुकेको आरोपबाट मुक्त हुन नसकेको यस फिल्मबाट रेवती र आशिषले डेब्यु गरेका हुन् । दुबै फिल्मलाई लिएर आशावादी देखिए ।

नव–नायक आशिष चर्चित पुस्तकमाथि बनेको फिल्ममा काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए । उनले भने ‘पुस्तक पढ्दा जति आनन्द आउँछ फिल्मबाट पनि त्यो खुसी मिल्छ ।’ केही बलिउड फिल्म समेत गरिसकेकी रेवती पनि फिल्मलाई दर्शकले रुचाउनेमा आशावादी देखिइन् । लेखक तिमल्सेनाले पुस्तक पढ्दा पाठकको मन छोएको महत्वपूर्ण पाटोलाई मात्र फिल्ममा उतारिएको बताए । फिल्मको संवाद सुविन र सामीप्य मिलेर लेखेका छन् ।