‘मालिका’बाट मालमाल बन्ने आशामा रेखा थापा

title
मङ्लबार, अशोज २३, २०७५

काठमाडौं । प्रोमो लञ्चसँगै रेखा थापा ‘मालिका’को प्रचारमा जुटेकी छन् । कात्तिक १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको निर्देशक तथा अभिनेत्री रेखा थापाले प्रदेश नं २ बाट प्रचार प्रसार सुरु गरेकी हुन् ।

छोरीको निम्ती स्वर्णिम नेपाल अभियानकी अभियान्ता समेत रहेकी रेखा शुक्रबार जनकपुर नगर हुँदै रौतहट पुगिन् । उनले त्यहाँका महिलाहरुसँग फिल्म र सामाजिक चेतना बारे साक्षात्कार गरिन् । बाल विवाह, दाईजो तथा महिला माथि हुने सबै बिभेद र हिंसा अन्त्य गरेर सुन्दर देश बनाउनु पर्ने रेखाको भनाइ थियो ।

यस्तै उनले प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर शाह, युनिसेफ र युएनएफपिएका प्रदेश प्रमुखसँग बैठक समेत गरिन् । उक्त बैठकमा तराईका विभिन्न जिल्लामा रेखा थापा फाउण्डेशनले स्थानिय सरकारलाई छोरिका सवालमा प्रभावकारी कदम चाल्न सहजीकरण गर्ने सल्लाह भएको रेखाले बताइन् । यस अभियानमा रेखा सँगै सामाजिक रुपान्तरण र जीवन प्रशिक्षक नर बहादुर कार्की पनि सामेल छन् ।

रेखा थापाको अभिनय, निर्माण तथा निर्देशन रहेको फिल्म ‘मालिका’ बाल बिवाह बिरुद्धको फिल्म हो । जहाँ रेखासँगै जाजरकोटी चौध वर्षिय बालिका कमला ओलीको मुख्य भूमिका रहेको छ । फिल्मको कथा रेखा र नरबहादुर मिलेर तयार गरेका हुन् भने पटकथा शिवम अधिकारी लेखेका हुन् ।