मिडिया काउन्सिल विधेयकविरुद्ध देशभरका पत्रकार सडकमा

title
शुक्रबार, जेष्ठ ३, २०७६

काठमाडौं– सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोध देशभरका पत्रकारहरु सडकमा उत्रिएका छन् ।

प्रेस स्वतन्त्रताको हनन हुने गरी सरकारले मिडिया काउन्सिल सम्बन्धी कानून ल्याउन लागेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् ।

विभिन्न सञ्चारमाध्यमसँग आवद्ध पत्रकारहरुले शुक्रबार पनि देशका विभिन्न ठाउँमा सरकारको विरोधमा सडकमा धर्ना दिएका छन् ।

काठमाडौंमा नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र विभिन्न जिल्लामा जिल्ला शाखाको अगुवाइमा पत्रकारहरु विरोधमा उत्रिएका छन् ।

काठमाडौंमा शुक्रबार पत्रकारहरुले नयाँ बानेश्वरमा धर्ना दिएका छन् । संघीय संसद भवन नजिक पत्रकारहरुले मिडिया काउन्सिल विधेयक खारेज गर्नुपर्ने मागसहित धर्ना दिएका हुन् ।

पत्रकारहरुको प्रदर्शन तथा धर्नामा ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘मिडिया काउन्सिल विधेयक खारेज गर’ लगायतका नारा लेखिएका ब्यानर तथा प्लेकार्ड समेत प्रदर्शन गरिएको छ ।