मिडिया काउन्सिल विधेयक तत्कालन फिर्ता लिन कांग्रेस उपसभापति निधिको माग

title
मङ्लबार, बैशाख ३१, २०७६

धनुषा । कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकारले मिडिया काउन्सिल विधेयक मार्फत प्रेस स्वतन्त्रता खोस्न खोजेको भन्दै विधेयक तत्कालन फिर्ता लिन माग गर्नुभएको छ । आज जनकपुरधाममा उपसभापति निधिले प्रेस काउन्सिललाई खारेज गरेर मिडिया काउन्सिलमार्फत मिडियालाई नियन्त्रण गर्न खोजिनु निन्दनीय रहेको बताउनु भयो ।

उहाँले मिडिया काउन्सिल गठन गरी मन्त्रालयको शाखा कार्यालयको रुपमा परिणत गर्न खोजिएको पनि बताउनु भयो । उपसभापति निधिले प्रेस जगतको स्वतन्त्रता माथि आक्रमण गर्नु लोकतन्त्रमाथिको पनि आक्रमण भएको भन्दै तत्काल मिडिया काउन्सिल सम्बन्धि विधेयक फिर्ता लिन माग गर्नुभयो ।

निधिले मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १ करोड रुपैयाँसम्म जरिवाना तथा १५ वर्षसम्मको जेल सजायको व्यवस्था राख्नुले सरकार अधिनायकवादको बाटोमा हिंडिरहेको स्पष्ट हुने बताउनु भयो । पूर्व राजा ज्ञानेन्द्र शाहले जसरी सत्ता हत्याउनका लागि प्रेसमाथि आक्रमण गरेका थिए त्यहि हिसाबमा वर्तमान सरकार पनि ज्ञानेन्द्र पथमा हिंडेको उहाँले आरोप लगाउनु भयो ।