‘मिस्टर भर्जिन’आजबाट दर्शकमाझ

title
शुक्रबार, भदौ १, २०७५

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट नेपाली चलचित्र हलहरुमा ‘मिस्टर भर्जिन’ प्रदर्शनमा आउने भएको छ । सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’ मोफसल दौडाहा सकेर राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र शुक्रबारबाट आउने जानकारी गराएको हो ।

प्रदर्शनको अघिल्लो दिन राजधानीमा पत्रकार भेटघाट गर्दै चलचित्र युनिटले फिल्मको विषयमा जानकारी दिएको छ । तीन भर्जिन युवाको एक रातको कथा बोल्ने फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक विशारद बस्नेतले पहिलो पटक नेपालमा सेक्स कमेडी फिल्म बनेको भन्दै दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताए । उनले फिल्मको नाम ‘मिस्टर भर्जिन’ भएकै कारण कसैले पनि नाक खुम्च्याउनुपर्ने अवस्था भने नरहने दाबी गरे । सबैले हेर्न मिल्ने फिल्म बनेको दाबी गर्दै उनले युवापुस्तालाई फिल्मको कथावस्तुले झन आकर्षित गर्ने बताए ।

अभिनेता गौरवले ‘मिस्टर भर्जिन’ समाजको यर्थाथ कथा रहेको बताए । अभिनेत्री मरिश्काले फिल्मको कन्टेन्ट बलियो भएका कारण दर्शक निराश हुनु नपर्ने बताइन् । यसमा उनले कर्ल गलको भूमिका निर्वाहा गरेकी छिन् । तीन युवाको यौनप्रतिको सोच र उनीहरुको दौडधुपको कथा फिल्मले वाचन गर्ने कलाकार कमलमणी नेपालले बताए ।

यस फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह–निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् । वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली.को ब्यानरमा निर्माण भएको फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ ।