‘मिस्टर भर्जिन’को प्यारोडी बनाऔं, पुरस्कार जितौं

title
आइतवार, साउन २०, २०७५

काठमाडौं । नेपाली चलचित्रको बजार ओरालो लाग्दो छ । सानो बजारमा तीव्र प्रतिस्पर्धाका कारण पनि चलचित्र राम्रो बजार लिन सकेको देखिदैन । त्यो भन्दा पनि महत्वपूर्ण कुरा चलचित्रको निर्माण, कथा वस्तु, गीत–संगीत, प्रविधिको भरपूर प्रयोग यसमा निर्भर रहन्छ ।

यी सबैकुरालाई चलचित्र मेकिङमा ध्यान दिइयो भने तीव्र प्रतिस्पर्धाका बाबजुद पनि दर्शकले चलचित्र रुचाउने अवस्था आउँछ । चलचित्र जस्तो सुकै होस्, दर्शकको नजरमा पार्न चलचित्र निर्माण पक्षले आफ्नो चलचित्रका अनेक फण्डा अपनाउने गरेका छन् ।

कोहीले पुरस्कारको व्यवस्था गर्छन् भने कोहीले देश दौडाहामा समय खर्चिन्छन् अनि कोहीले मुलुकका विभिन्न शहरमा कन्सर्टकै आयोजना समेत गर्छन् । यो त भयो नेपाली चलचित्र क्षेत्रमा पछिल्लो पटक देखिएको इतिवृत्ति । यही मेसोमा नयाँ चलचित्र मिस्टर भर्जिन टोलीले पनि चलचित्रको प्रचार प्रसारका लागि विशेष काइदा अपनाएको छ ।

भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको यौन मनोविज्ञानमा निर्मित फिल्म ‘मिस्टर भर्जिन’ ले ट्रेलरको प्यारोडी प्रतियोगिता घोषणा गरेको हो । सहभागीहरुले ट्रेलरको प्यारोडी बनाएर साउन ३० सम्म सम्बन्धित निकायमा पठाउनुपर्ने निर्देशक विशारद बस्नेतले जानकारी दिए । प्रतियोगितामा सहभागी प्यारोडीमध्ये उत्कृष्ट तीनले क्रमशः ५० हजार, २५ हजार र १० हजार रकम पुरस्कार प्रदान गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । यस फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह–निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।

त्यसो त अहिले चलचित्र निर्माण गरेकै भरमा चल्छ भन्ने छैन । प्रविधिको प्रयोग चाहिन्छ नै । सामाजिक सञ्जालको प्रयोगले विश्वलाई नै क्षेणभरमा एक ठाउँमा जोड्ने अवस्था समेत सिर्जना भएको छ । यस्तो अवस्थामा चलचित्र निर्माताहरुले पनि आफ्नो चलचित्रको सामाजिक सञ्जालबाट भरपूर प्रचार प्रसार गर्छन् । गतिलो प्रचारप्रसारले पनि फिल्मको कमाईमा ठूलो प्रभाव पार्छ भन्ने कुरामा उनीहरु विश्वस्त पनि बन्ने गरेका छन् ।