मुआब्जा माग्दै स्थानीयद्वारा नुवाकोट बन्द

title
आइतवार, माघ ६, २०७५

नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा बिस्तार भइरहेको ‘गल्छी–रसुवागढी’ सडक योजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आज नुवाकोट बन्द गराएका छन् । आयोजना अन्तर्गत पीपलटारदेखि ढुङ्गेसम्म नौ किलोमिटर दुरीको सडक बालाजु–त्रिशूली सडक खण्डमा पर्ने र त्यसको सडकको सीमा निर्धारण २०३४ सालको राजपत्रमा सूचना जारी गरी सडकको पहुँचमा आइसकेको भन्दै मुआब्जा नदिने जनाएपछि प्रभावित बासिन्दाले जिल्ला बन्द गराएका हुन् ।

मुआब्जा पीडित संघर्ष समितिको आयोजनामा भएको बन्दले नुवाकोट र रसुवामा सञ्चालित छोटो तथा लामो दुरीका यातायातका साधन ठप्प हुँदा यात्रुले सास्ती पाएका छन् । बन्दले बजारक्षेत्र, शैक्षिकसंस्था, उद्योग तथा कलकारखाना समेत प्रभावित बनेको छ । चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तरगत बन्द आह्वान गरेको र मागको सुनुवाई नभए थप संघर्षका कार्यक्रम ल्याउन आफूहरु बाध्य हुने समितिका संयोजक लिलानाथ न्यौपानेले चेतावनी दिनुभयो ।

कानून अभावमा पिपलटार देखि ढुङ्गेसम्मको जग्गाको मुआब्जा दिन नमिल्ने आयोजना पक्षले जनाएको छ । पिपलटार–ढुङ्गे सडक खण्ड नुवाकोटको सदरमुकाम विदुर सहित मुख्य–मुख्य बजार क्षेत्रमा पर्ने र त्यहाँका एक हजार जग्गाधनी मुआब्जाबाट प्रभावित हुने देखिएको छ । ‘गल्छी–रसुवागढी’ सडक पृथ्वी राजमार्ग स्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढीहुदै चीनको केरुङ प्रवेशद्धारसम्म जोड्ने सडक निर्माण २०७२ बैशाख १ देखि निर्माण थालिएको हो ।