‘मुन्द्रेको कमेडी क्लब’ आजबाट

title
सोमवार, कार्तिक १९, २०७५

काठमाडौं । हास्यकलाकार जितु नेपाललले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारबाट नेपाल टेलिभिजनमा प्रशारण हुनेछ । कार्यक्रमबारे जानकारी दिन हालै आयोजना गरिएको कार्यक्रममा कार्यक्रमकी निर्देशक तथा अध्यक्ष दिपाश्री निरौलाले बताएकी ‘मुन्द्रेको कमेडी क्लब’ भारतीय कमेडी शो ‘कपिल शर्माको शो’बाट प्रभावित भएको बताएकी छिन् ।

कार्यक्रमको औपचारिक घोषणामा पत्रकारहरु माझ उनले कपिल शर्मा शोको कपि नभई प्रभावित भएको बताइन् । उनले ‘अक्कलविनाको नक्कल’ काम नलाग्ने भन्दै आफूहरुले अक्कल लाएर नक्कल गरेको बताइन् । कार्यक्रमको औपचारिक घोषणामा मुन्द्रेको कमेडी क्लबमा समावेश कार्यक्रमहरुका केही झलक देखाइएको थियो ।

उपस्थित पत्रकारहरुले भारतीय चर्चित हास्यव्यंग्य शो कपिल शर्मा शोको फम्र्याटमा कार्यक्रम तयार भएको हो भन्ने खालका जिज्ञासा राखेका थिए । यस बारेमा बोल्दै मुन्द्रे अर्थात जितु नेपाल भन्छन् ‘कपिल शर्माले पहिले शुरुवात गरेको कारण उस्को कार्यक्रमसँग दाज्नु स्वभाविक हो । तर हाम्रो कार्यक्रममा नेपालीपन छ । हाम्रो आफ्नै मौलिकता रहको छ ।’

उनले नेपाली कलाकारले नेपाली शैलीमा रमाइलो गरेर मनोरञ्जन दिनेमा आफू ढुक्क भएको बताए । उनले आफू टेलिभिजनबाटै आएको कलाकार भएकोले टेलिभिजनको लागि केही कार्यक्रम उत्पादन गरौँ भनेर पनि टेलिभिजनको कार्यक्रममा फर्किएको बताए ।

‘कपिल शर्माको शोसँग मिल्छ वा अरुसँग मिल्छ भनेर चुप लागेर बस्ने पनि कुरा भएन’, उनले भने, ‘नेपाली दाजुभाई दिदिबहिनीहरुको लागि भए पनि हामीले कार्यक्रम तयार पारेका हौँ ।’ मुन्द्रेको कमेडी शोको अहिलेसम्म ५ वटा भाग तयार भइसकेको छ । प्रति भाग ७ लाख रुपैयाँको लागतमा तयार भएको मुन्द्रेको कमेडी शोमा दिपाश्री निरौला अध्यक्षको रुपमा प्रस्तुत भएकी छन् भने राजाराज पौडेल लगायतका कलाकारहरुले जीतु नेपाललाई साथ दिनेछन् ।

नेपाली हास्यव्यंग्य बिधामा जितु नेपालको नाम आज आफैमा एक परिचय बनिसकेको छ । देश विदेशमा उनका लाखौं प्रशंसकहरु रहेका छन् । उनका ती लाखौँ प्रशंसकहरुका लागि एक नौलो र रमाइलो कार्यक्रमको नितान्त आवश्यकता रहेको महसुस गरी कि इन्टरटेन्मेन्टले ‘मुन्द्रेको कमेडी क्लब’कार्यक्रमको शुभारम्भ गरेको हो । कार्यक्रम सोमबार राती ८ः५० बजेबाट नेपाल टेलिभिजनमा प्रशारण हुनेछ ।

यो कार्यक्रमले एक फरक कमेडी प्याकेज दर्शक माझ प्रस्तुत गर्ने आयोजकको अपेक्षा छ । विश्व भरका विभिन्न टेलिभिजन च्यानलहरुमा निकै नै रुचाइएको स्केच कमेडी र सेलिब्रेटी टक शोको फम्र्याटलाई पछ्याउँदै कार्यक्रम तयार पारिएको जनाइएको छ ।

नेपाली कलाकारिता जगतका हस्तीहरु राजाराम पौड्याल र दिपाश्री निरौलाको प्रमुख उपस्थिति रहने कार्यक्रममा राजेन्द्र नेपाली, उमेश राई ‘फुलन्देकीआमा’ लगायतका कलाकारहरुको पनिआकर्षक प्रस्तुति रहने छ भने जितु नेपालले यस कार्यक्रमको मुख्य सञ्चालन गर्नेछन् ।