मुलुकी संहिता संशोधनको माग गर्दै पत्रकारहरुको प्रर्दशन

title
शुक्रबार, भदौ २२, २०७५

काठमाडौ । भदौ १ गतेदेखि लागु भएको मुलुकी संहिता संशोधनको माग गर्दै पत्रकारहरुले शुक्रवार काठमाडौंमा प्रर्दशन गरेका छन् ।

नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकारसम्बद्ध विभिन्न संघसंस्थाहरुले शुक्रवार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन सहित धर्ना दिएका हुन् । प्रदर्शनमा सहभागीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर, मुलुकी देवानी र फौजदारी संहिता संशोधन गर, आलोचना गर्न पाउने नागरिक अधिकार सुरक्षित गर, पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर आदि लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

संहिता संशोधनको माग गर्दै पत्रकार महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।महासंघले मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधान अनुसार सञ्चार माध्यममा प्रकाशित/प्रसारित सामग्रीकै आधारमा संचारकर्मी माथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था देखिएको भन्दै संशोधन गर्न माग गर्दै आएको छ ।

प्रर्दशनका क्रममा पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले संबिधानमै रहेको प्रेस स्वतन्त्रताको अधिकारलाई नयाँ कानुनले कुल्चने काम गरेको आरोप लगाउनुभयो ।

सञ्चार माध्यममा समाचार लेखेकै कारण सरकारवादी मुद्दा बनाएर फौजदारी कसुर लगाउन नहुने बताउँदै महासंघले लेखेर हुने गल्तीलाई देवानी कसुरमा राख्नुपर्ने माग गरेको छ ।