मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात, जनजिवन कष्टकर

title
शुक्रबार, माघ २५, २०७५

सन्तोष गौतम/म्याग्दी । करिब दुई हप्ताअघि भएको बाक्लो हिउँ पग्लिन नपाउँदै मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रका बस्तीहरुमा बिहीबार बिहानैदेखि भएको हिमपातले जनजिवन कष्टकर बनेको छ ।

उपल्लो मुस्ताङको मुक्तिनाथ, लोमान्थाङ, छोसेर, घमी, समरका साथै म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जा र अन्नपूर्ण गाउँपालिका ६ घोडेपानी लगायतका बस्तीमा माघ १२ र १३ गतेको हिउँ पग्लिसकेको थिएन ।

बिहीबार बिहानैदेखि पुनः हिउँ पर्न थालेपछि अत्याधिक चिसो बढेको महशुस भएको छ । मुस्ताङको मुक्तिनाथका सुरज गुरुङले हिमपात र चिसोका कारण घरबाहिर निस्कन सक्ने अवस्था नरहेको बताउनुभयो । चिसोका कारण पर्यटकीय स्थलहरु सुनसान भएको र स्थानीयबासीको जनजिवन प्रभावित भएको गुरुङले बताउनुभयो ।

जोमसोमको ठिनीका कुलबहादुर थकालीले घरभित्रै आगो तापेर बसेको बताउनुभयो । हिमपातका कारण भेडा, च्याङग्रा, चौरीगाई लगायत बस्तुभाउलाई आहराको समस्या हुन थालेको छ । हिमपात र खराम मौसमका कारण पोखरा–जोमसोम हवाई उठान नभएको छैन् । बेजोडका साथ चिसो बतास चलेको मुस्ताङका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।

म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र टोड्केमा पनि हिमपात भएको छ । मालिका गाउँपालिका ५ देविस्थानकी वडा अध्यक्ष पिपला बुढाले बर्षा र हिउँले खेतीबालीमा क्षति पुगेकाले कृषक चिन्तीत भएका बताउनुभयो ।