मेरी मामुः आयूबकै कारण आशा र चुनौती

title
बुधबार, साउन ३०, २०७५

काठाडौं । नेपाली चलचित्र इतिहासमा कमै चलचित्रले सोलो रिलिजको मौका पाउँछन् । चलचित्र रिलिज हुँदा हालसम्म एकल प्रदर्शनमा आएका चलचित्रको संख्या कमै छ । पहिले पहिले चलचित्र निर्माण कम मात्रामा हुने हुँदा चलचित्रले सोलो रिलिजको मौका पाउने गरेको भए पनि पछिल्लो समय वार्षिक ८० देखि ९० वटासम्म चलचित्र निर्माण हुने गरेका कारण सोलो रिलिजको अवस्था आउँदैन र प्रदर्शनताका तीन–चार वटा चलचित्र जुध्ने गरेको पाइन्छ ।

यही मेसोमा निर्माता सन्तोष सेनले निर्माण गरेको चलचित्र मेरी मामु आगामी भदौ १५ गतेबाट प्रदर्शनमा आउने भएको छ । त्यपछिको शुक्रबार भने ठूलो भिडन्त छ । कारण हो हरितालिका तीजलाई लक्षित गरी निर्माण पक्षले भदौ २२ मा आफ्नो चलचित्र प्रदर्शनमा ल्याउने यस अघि नै घोषणा गरिसकेका छन् । त्यसो त नेपाली चलचित्रका लागि सबैभन्दा बढी दर्शक पाउने समय भनेको दशै र तिहार हो त्यसपछि तेस्रो नम्बरमा दर्शक ओइरिने समय तीजलाई नै मान्ने गरिन्छ । यही कारण पनि यो मितिमा नेपाली चलचित्रमा ठूलो व्यापारिक प्रतिस्पर्धा सिर्जना हुन्छ । भदौ २२ भन्दा अघिल्लो शुक्रबार भने अर्थात भदौ १५ मा मेरी मामु एकल प्रदर्शनमा आउँदैछ ।

‘चंखे शंखे पंखे’बाट फिल्म चलचित्र निर्माणमा डेब्यु गरेका सन्तोष सेनले नै ‘मेरी मामु’को निर्माण गरेका हुन् । पहिलो चलचित्रबाट अफसलता हात पारेपनि सन्तोषले फिल्मी क्षेत्रलाई छाडेनन् । त्यसलगत्तै उनले सुदर्शन थापालाई निर्देशकको रुपमा लिएर उनले ‘प्रेमगीत’ बनाए । प्रेम गीतले बक्स अफिसमा राम्रै सफलता हात पा¥यो । व्यापारिक रुपमा चलचित्र सफल नभए पनि दर्शकको नजरमा भने चलचित्र उत्कृष्ट ठहरियो । यसपछि उनले लभस्टोरी कथामै ‘प्रेमगीत’ को दोस्रो सिरिज बनाए । लिड अभिनेतामा प्रदीप खड्का थिए । यो फिल्म बक्सअफिसमा उत्कृष्ट सावित भयो । त्यसपछि उनले चलचित्र चलाउने काइदा तथा तौर तरिकाको विषयमा धेरथोर जानकार भए । त्यसैले पनि उनले अहिले आफ्नो चलचित्र सोलो रिलिज गराउन लागेका हुन् । जसका लागि यतिबेला निर्माण टोली प्रचार प्रसारमा समेत जुटिसकेको छ ।

आफ्नो पछिल्लो चलचित्रमा सन्तोषले ६ वर्षे छोरा आयूब सेनलाई डेब्यु गराएका छन् । सन्तोषले निर्माण गरेका तीन फिल्म लभस्टोरी बेसका थिए । तर ‘मेरी मामु’ मा उनले फरक कथा टिपेका छन् । आमा र छोरा बीचको दूरी र आत्मीयताको कथा फिल्मले बोल्छ । यो फिल्मको एक गीत समेत सार्वजनिक भइसकेको छ । गीतबाट आयुबको राम्रै चर्चा बटुलेका छन् । केही दिनमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेका निर्माता सेनले दुई चरणमा फिल्मको प्रचार गर्ने बताए ।

पहिलो चरणको प्रचार सकिसकेको छ । देशका प्रमुख स्टेशनमा पत्रकार सम्मेलनदेखि स्कूल–स्कूलमा गएर फिल्मको विषयमा जानकारी गराइएको थियो । दोस्रो चरणको प्रचार ‘प्रेमगीत २’ शैलीको गर्ने सेनको तयारी छ । उनका अनुसार, देशभर फिल्मको प्रचार–प्रसारलाई आक्रामक बनाउन सांगीतिक कन्सर्ट गरिँदैछ । निर्माता सन्तोष सेनले फिल्म राम्रो बनेका कारण टोली पनि प्रचारमा निकै नै आक्रामक रुपमा प्रस्तुत हुने जानकारी दिए । उनले भने– ‘फिल्ममा पनि हामीले लगानी गर्नुपर्ने ठाउँमा काहिँ कञ्जुस गरेका छैनौं । म खुसी छु खर्च भएअनुसार फिल्म बनेको छ । आयुबले राम्रो काम गरेको छ । फिल्मले लगानी सजिलै उठाउनेमा म विश्वस्त छु ।’

यसैबीच, प्रचारलाई आक्रामक बनाउने क्रममा ‘मेरी मामु’ टिमले ‘आफ्नो मामुसँग थाइल्याण्ड टुर जाऔँ’ शीर्षकमा एउटा प्रतियोगिता अगाडि सारेको छ । आफ्नो आमाको बारे २ सय ५० शब्दमा नबढाई बाक्यांश लेखेर पठाउने उत्कृष्ट ५ जनालाई थाइल्याण्ड घुमाउने प्रतियोगिताको घोषणा यसअघि नै गरेको थियो । यम थापा निर्देशित यो फिल्ममा ६ वर्षे आयुबसँगै कुसुम गुरुङ, शारुक ताम्राकार, अश्लेषा ठकुरीलगायतका कलाकाहरुको अभिनय छ । काठमाण्डौंदेखि देवघाटसम्मको टुरमा आमा–छोराको सामिप्य र उत्तरचढावलाई यस फिल्ममा प्रस्तुत गरिएको छ ।