‘मेरी मामु’ आजबाट दर्शकमाझ

title
शुक्रबार, भदौ १५, २०७५

काठमाडौं । सन्तोष सेनले निर्माण गरेको फिल्म ‘मेरी मामु’ फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्ममा आयुब सेन, नायक सारुक ताम्राकार र नायिका अश्लेषा ठकुरीको मुख्य भूमिका रहेका छ । यी सँगै नायिका कुसुम गुरुङ, भूवन चन्द, दुर्गा मल्ल, कृजन गौतम, शुभम बिष्ट समेतको अभिनय रहेको छ ।

आसुसेन ब्यानरबाट निर्माण भएको प्रेम गीत र पे्रम गीत २ हिट भएपछि निर्माता सेन मेरी मामु लिएर दर्शकको माझ आएका हुन् । बाल मनोविज्ञानमा आधारित ६ वर्षिय आयुव सेनले मुख्य भूमिका निभाएका छन् । चलचित्रले सोलो रिलिजको मौका पाएको छ । त्यसो त नेपाली चलचित्र इतिहासमा कमै चलचित्रले सोलो रिलिजको मौका पाउँछन् । चलचित्र रिलिज हुँदा हालसम्म एकल प्रदर्शनमा आएका चलचित्रको संख्या कमै छ ।

पहिले पहिले चलचित्र निर्माण कम मात्रामा हुने हुँदा चलचित्रले सोलो रिलिजको मौका पाउने गरेको भए पनि पछिल्लो समय वार्षिक ८० देखि ९० वटासम्म चलचित्र निर्माण हुने गरेका कारण सोलो रिलिजको अवस्था आउँदैन र प्रदर्शनताका तीन–चार वटा चलचित्र जुध्ने गरेको पाइन्छ । मेरी मामुले यो शुक्रबार सोलो रिलिज पाए पनि गत शुक्रबारबाट प्रदर्शनमा आएको नाइँ नभन्नू ल–५ लाई दर्शकले साथ दिइरहेका कारण यसको व्यापारिक प्रतिस्पर्धा कडा नै हुने देखिन्छ । आउँदो शुक्रबार भने ठूलो भिडन्त छ । कारण हो हरितालिका तीजलाई लक्षित गरी निर्माण पक्षले भदौ २२ मा आफ्नो चलचित्र प्रदर्शनमा ल्याउने यस अघि नै घोषणा गरिसकेका छन् ।

त्यसो त नेपाली चलचित्रका लागि सबैभन्दा बढी दर्शक पाउने समय भनेको दशै र तिहार हो त्यसपछि तेस्रो नम्बरमा दर्शक ओइरिने समय तीजलाई नै मान्ने गरिन्छ । यही कारण पनि यो मितिमा नेपाली चलचित्रमा ठूलो व्यापारिक प्रतिस्पर्धा सिर्जना हुन्छ । भदौ २२ भन्दा अघिल्लो शुक्रबार भने अर्थात भदौ १५ मा मेरी मामु एकल प्रदर्शनमा आउँदैछ । ‘चंखे शंखे पंखे’बाट फिल्म चलचित्र निर्माणमा डेब्यु गरेका सन्तोष सेनले नै ‘मेरी मामु’को निर्माण गरेका हुन् ।

पहिलो चलचित्रबाट अफसलता हात पारेपनि सन्तोषले फिल्मी क्षेत्रलाई छाडेनन् । त्यसलगत्तै उनले सुदर्शन थापालाई निर्देशकको रुपमा लिएर उनले ‘प्रेमगीत’ बनाए । प्रेम गीतले बक्स अफिसमा राम्रै सफलता हात पा¥यो । व्यापारिक रुपमा चलचित्र सफल नभए पनि दर्शकको नजरमा भने चलचित्र उत्कृष्ट ठहरियो । यसपछि उनले लभस्टोरी कथामै ‘प्रेमगीत’ को दोस्रो सिरिज बनाए । लिड अभिनेतामा प्रदीप खड्का थिए । यो फिल्म बक्सअफिसमा उत्कृष्ट सावित भयो । त्यसपछि उनले चलचित्र चलाउने काइदा तथा तौर तरिकाको विषयमा जानकार भए । त्यसैले पनि उनले अहिले आफ्नो चलचित्र सोलो रिलिज गराउन लागेका हुन् ।

आफ्नो पछिल्लो चलचित्रमा सन्तोषले ६ वर्षे छोरा आयूब सेनलाई डेब्यु गराएका छन् । सन्तोषले निर्माण गरेका तीन फिल्म लभस्टोरी बेसका थिए । तर ‘मेरी मामु’ मा उनले फरक कथा टिपेका छन् । आमा र छोरा बीचको दूरी र आत्मीयताको कथा फिल्मले बोल्छ । गीतबाट आयुबको राम्रै चर्चा बटुलेका छन् । देशका प्रमुख स्टेशनमा पत्रकार सम्मेलनदेखि स्कूल–स्कूलमा गएर फिल्मको विषयमा जानकारी गराइएको निर्माण पक्षले चलचित्रबाट ठूलो आशा राखेको छ ।