मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली विजयी

title
बुधबार, कार्तिक १४, २०७५

काठमाडौं । ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मंगलबार बेजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० ले हराएको छ ।
नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले गोल गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको टोलीका लागि दीपाले ५५ औं र इन्दिराले ८२ औं मिनेटमा गोल गरेकी थिइन् । तीन वटा मैत्रीपूर्ण खेलका लागि नेपाली शुक्रबार चीन पुगेको थियो । अन्तिम खेल नेपाली टोलीले बेजिङ फोनिक्ससँग बुधबार खेल्ने बताइएको छ । त्यसपछि नेपाली टोली नोभेम्बर २ मा चीनबाट ओलम्पिक छनोट खेल्न म्यानमार जानेछ ।नेपाल सम्मिलित ओलम्पिक छनोटको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन् । नेपालले ८ नोभेम्बर ८ मा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालले पहिलो पटक ओलम्पिकको महिला फुटबल छनोटमा भाग लिन लागेको हो ।
हरि खड्काको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीको अर्को प्रशिक्षक मृगेन्द्र मिश्र छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य दीर्घबहादुर केसी टोली नेता रहेको टोलीको व्यवस्थापकमा हिराचन थकाली छन् ।