मौलिक संस्कृति चिनाउँदै एन्सर्ज गुरुङ

title
मङ्लबार, कार्तिक २०, २०७५

काठमाडौं । विश्वको विभिन्न देश घुमेर नेपाल र नेपाली कला तथा संस्कृतिको पहिचान र परिचय दिने काम गर्दै आएकी अभिनेत्री हुन– एन्सर्ज गुरुङ । नेपाली कला तथा संस्कृतिको उत्थानको लागि एन्सर्ज अहोरात्र खटिंदै आएकी छिन् ।

विश्व यात्री जस्तै यात्रा गर्न अत्यन्त रुचि राख्ने एन्सर्जले कला र संस्कृतिले ओतप्रोत चलचित्रको अभिनयवाट नेपाल वाहिर हङकङ, बेलायत, जापान, अमेरिका लगायत धेरै मुलुकमा नेपाललाई चिनाउने कार्य भएको छ । विशेष गरेर नेपाली पहिचानको विछट्टै कला–संस्कृतिको बेग्लै पहिचानको गुरुङ संस्कृतिका पहिचान र परम्पराका चलचित्रबाट यस कार्यमा योगदान दिने कार्य एन्सर्जबाट भएको छ ।

गुरुङ भाषाका चलचित्र प्हीरुमाला, मनको बाँबरी, म्ले क्यू (बिर्साउने पानी), आमाको मन लगायतका चलचित्रमा एन्सर्जले बेजोड अभिनय गरेकी छन् । फरक कथामा फरक शैलीमा अभिनय गर्न सक्ने स्वभाविक अभिनयकी धनी यिनै अभिनेत्री एन्सर्ज गुरुङ लोपोन्मुख नेपाली जातिका कला र संस्कृतिलाई विश्वसमक्ष उजागर गर्ने अभियानमा रहेकी छन् ।

नेपालमा निर्माण भएका र गरेका यस्ता कलात्मक चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने क्रममा विश्व भ्रमण गर्दैआएकी एन्सर्जको सोच नै नेपाल चिनाउने हो । पश्चिम नेपालको स्याङ्जामा जन्मी हुर्केकी एन्सर्जको खुबीलिटी अभिनयको अलावा नृत्य पनि हो ।

सानैदेखि नृत्य भनेपछि हुरुक्कै बन्दै गजबले भनेजस्तो नृत्य गरेर एन्सर्जले सवैको वाहवाही पाउंदै आएकी छन् । सवैखाले नृत्य गर्न सक्ने क्षमताको कारण एन्सर्ज सवैको प्रिय अभिनेत्री बनेकी हुन् । त्यसको अलावा मौलिक नेपालीभाका रहेका सालैजो, कौडा, छोरीको बेदना लगायतका तीज गीत र आधुनिक गीत वियोगको म्युजिक भिडियोमा पनि एन्सर्जको अभिनय रहेको छ ।

हालै जनजाति महासंघ अमेरिकाले पनि त्यहांको फिल्म फेस्टिबलको अवसरमा जनजाति समुदायको मौलिक संस्कृति र पहिचानलाई अभिबृद्धि गर्न योगदान दिएवापत सम्मान गर्ने कार्य भएको छ । स्नातक तहसम्मको अध्ययन पूरा गरिसकेकी एन्सर्ज सामाजिक सेवामा पनि सक्रिय रहेकी छन् ।

समिदा वुमेन डेभलपमेन्ट फोरमको उपाध्यक्ष रहेर दुई बर्षभन्दा बढी एकल महिला तथा बालबालिकाको क्षमता विकास कार्यक्रममा सहयोगी बनेर कार्य गरिसकेकी छन् । यसप्रकारका सामाजिक कार्य बाँचुन्जेल गर्दैजाने प्रतिबद्धता पनि एन्सर्जको रहेको छ ।