म्यानमारविरुद्ध नेपालको शानदार जित

title
बिहिबार, अशोज १८, २०७५

काठमाडौं । विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गर्दै शानदार शुरुवात गरेको नेपाली टोलीले दोस्रो खेलमा आगामी शनिबार प्यालेस्टाइनको सामना गर्दैछ ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भएको खेलमा म्यानमारले प्रस्तुत गरेको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा भेटाएको हो ।  नेपालका लागि करण केसीले ८ बलमा नटआउट १४ रन जोडेका थिए । अनिल साहले ११ रन बनाउँदा प्रदिप ऐरी शून्यमा आउट भए । म्यानमारका टेट वाई र पाइङ दानुले १–१ विकेट लिए । त्यसअघि म्यानमार १० ओभरमा २९ रन जोड्दै अलआउट भएपछि नेपालले सहज लक्ष्य प्राप्त गरेको थियो । कमजोर म्यानमारबीरुद्ध नेपालको स्पिनर हावी भए ।

नेपालका लागि सन्दीप लामिछानेले २ ओभरमा ३ रन खर्चेर ४ विकेट लिए । ललित नारायण राजवंशीले ३ ओभरमा २ मेडनसहित ३ रन खर्चेर ३ विकेट नै लिएका थिए । करण केसी र ललितसिंह भण्डारीले १–१ विकेट लिए । कप्तान लि अउङले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । म्यानमारले पछिल्लो ६ विकेट १२ बलको अन्तरमा गुमाएको थियो ।

पहिलो जितसँगै २ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । समान २ अंक भए पनि थाइल्यान्ड रनरेटका आधरमा शीर्ष स्थानमा छ । २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । नेपालले अब शनिबार आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । पछिल्लो तीन ट्वान्टी–२० खेलमा नेपाल २ मा विजयी भएको छ भने एकमा पराजित भएको छ । तुलनात्मक रुपमा कमजोर मानिएको म्यानमानरविरुद्ध नेपालले अनुभवी शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामीलाई आराम दिएको छ । तीन वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका आक्रमक ब्याट्सम्यान प्रदीप ऐरीले मौका पाए ।

बुधबार नै भएका अन्य खेलमा मलेसियाले भुटानलाई ६७ रनले हरायो भने थाइल्यान्डले चीनविरुद्ध १० विकेटको विजय हासिल ग¥यो । टस हारेर ब्याटिङका लागि निम्त्याइएको आयोजक मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । १ सय ५५ रनको लक्ष्य पछ्याएको ९ विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो । बायुमास ओभलमा टस जितेर ब्याटिङ गरेको चीनले २० ओभर खेलेर ९ विकेट गुमाउँदै ३५ रन बनायो । ३६ रनको लक्ष्य थाइल्यान्डले २.४ ओभरमै कुनै विकेट नगुमाई पूरा ग¥यो ।

एसिया पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, चीन, म्यानमार, सिंगापूर र थाइल्यान्ड रहेका छन् । राउन्ड रोविन लिगका आधरमा हुने प्रतियोगिताको शीर्ष तीन टोलीले एसिया महादेशको छनोट प्रतियोगिता खेल्नेछ । जहाँ पश्चिमी क्षेत्रबाट युनाइटेड अरब इमिरेट्स (युएई), कतार र कुवेत छनोट भइसकेका छन् । एसिया महदेशको छनोट प्रतियोगिताबाट शीर्ष दुईले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।