‘म्यूजिकल थ्रिलर’सँग ‘लभ स्टोरी’को टक्कर

title
आइतवार, साउन १३, २०७५

काठमाडौं । गत शुक्रबारबाट बक्स अफिसमा दुई वटा चलचित्र प्रदर्शनमा आए । म्यूजिकल थ्रिलर जनराको ‘चिँ मुसी चिँ’ र लभ स्टोरी ‘रोमियो एन्ड मुना’ प्रदर्शनमा आएका हुन् । प्रदर्शनको पहिलो दिन दुबै चलचित्रले दर्शकको राम्रै साथ पाए ।

पछिल्लो समय नेपाली चलचित्रको व्यापार ओरालो लागिरहेका बेला यी दुई चलचित्रको व्यापारिक कारोबार भने खासै गतिलो देखिदैन । दुबै चलचित्रले पहिलो दिन उस्तै उस्तै कारोबार गरेको भए पनि शनिबार भने शुक्रबार भन्दा केही बढी दर्शक पाए । सार्वजनि विदा परेका कारण पनि हलमा दर्शकको भीड देखिएको हो ।

म्यूजिकल थ्रिलर जनराको ‘चिँ मुसी चिँ’लाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको ‘चिँ मुसी चिँ’ को कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता माछन् । सस्पेन्स भनिएको चलचित्रले प्रदर्शनको पहिलो र दोस्रो दिन दर्शकले राम्रै साथ पाएको छ ।

यही मितिमा प्रदर्शनमा आएको अर्को चलचित्र ‘रोमियो एन्ड मुना’ले पनि औसत व्यापार गरेको छ । नरेश कुमार केसीको निर्देशनमा तयार भएको यो चलचित्रले लभ स्टोरी कथालाई उठान गरेको छ । चलचित्रको प्रेस शोमा चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ, सुरक्षा पन्त लगायत पुगेका थिए ।

चलचित्रले विनय र श्रृष्टीको प्रेमसँगै श्रृष्टीको व्यक्तिगत कथालाई बढी फोकस गरेको छ । चलचित्र हेरिसकेपछि पत्रकारबाट पाएको प्रतिक्रियाले उनीहरु उत्साहित देखिए । चलचित्रको प्रचारका लागि थुप्रै फन्डा अपनाइएको ‘रोमियो एन्ड मुना’को सुरुवाती व्यापार भने औषत हो ।

मल्टिप्लेक्समा चलचित्रको व्यापार सामान्य छ भने सिंगलमा सुरुवात औषत छ । चलचित्र हेर्नेले नायिका श्रृष्टी श्रेष्ठको कामको प्रशंसा गरेका छन् । करिब २ बर्षपछि नेपाली चलचित्रको पर्दामा देखिएकी नायिका श्रेष्ठले यस चलचित्रबाट ठूलो आशा राखेकी छिन् । प्रशन्न गोपालीले यो चलचित्रको निर्माण गरेका हुन् ।