यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाईयो

title
मङ्लबार, कार्तिक २०, २०७५

काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाईएको छ ।

हिन्दू धर्मावलम्बी नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिएको छ ।

प्रत्येक वर्षको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधी पत्ता लगाउने गर्छ ।

कुकुरलाई भैरवको बहान पनि भनिन्छ । कुकुर इमान्दार र वफादार जनावर पनि हो । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।

कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोस्रो दिन पारेर पुज्ने गर्दछन् ।

सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।