यमपञ्चक शुरु, पहिलो दिन आज काग तिहार

title
सोमवार, कार्तिक १९, २०७५

अाजै धन्वन्तरी जयन्ती मनाइँदै
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपाली हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ ।

यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ ।

आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लागेको छ । यसैबीच, तिहारको दोस्रो दिन कुकुर पूजा, तेस्रो दिन लक्ष्मी पूजा, चौथो दिन गोबर्धन पूजा र अन्तिम दिन भाइटीका लगाएर तिहार पर्व धुमधामसाथ मनाइन्छ ।

कात्तिक शुक्ल द्वितीयाका दिन अर्थात कात्तिक २३ गते यो वर्षको भाइटीका परेको छ । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ । यस वर्षको भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णाय समितिले जनाएको छ ।

यसैबीच, वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । धन्वन्तरि जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ । आजका सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ ।