यसकारण प्रतिक्षित बन्यो ‘प्रसाद’, भोलिबाट दर्शकमाझ

title
बिहिबार, मंसिर २०, २०७५

काठमाडौं । ‘लै लै’ बोलको गीतबाट निकै चर्चा कमाएको चलचित्र ‘प्रसाद’ प्रदर्शनको संघारमा छ । ‘लै लै’ बोलको गीतको लिरिकल भिडियोबाट नै निकै हाइप पाएको चलचित्रलाई ‘बनकी चरी’ बोलको गीत र ट्रेलरले झनै चर्चा चुलियो ।  मङ्सिर २१ को प्रदर्शन मिति नजिकिदै गर्दा दर्शकहरु चलचित्र हेर्न निकै उत्सुक रहेका छन् । चलचित्र प्रदर्शन हुन अब एक दिन मात्र बाँकी रहँदा फिल्म युनिट प्रचार प्रसारलाई अन्तिम रुप दिएको छ ।

यो महिना बिना प्रचार र साना ब्यानरका फिल्मलाई छोड्ने हो भने दर्शकले प्रतिक्षा गरेको ठूला फिल्महरु रिलिज भएका छैनन् । मङ्सिरमा रिलिज हुने फिल्म भन्ने बित्तिकै दर्शकहरुको मुखमा ‘प्रसाद’ कै नाम रहेको छ । अभिनयमा खारिएका कलाकारहरुको अभिनय रहेको कारण दर्शकहरु चलचित्र राम्रो बनेको छ भन्नेमा ढुक्क रहेका छन् ।

थोरै तर मन मनमा बस्ने फिल्म निर्देशन गर्न सफल निर्देशक दिनेश राउतले नै ‘प्रसाद’ लाई निर्देशन गरेको कारण पनि यस चलचित्र प्रति दर्शकहरुको आशा अझ बढेको हो । कलाकार र निर्देशक बाहेक चलचित्रको अर्को बलियो पक्ष हो कथावस्तु पनि रहेको निर्माण पक्षको दाबी छ ।

‘लै लै’ बोलको गीत र चलचित्रको ट्रेलर हेरेर नै चलचित्रले सामाजिक कथा बोकेको प्रष्ट हुन्छ । चलचित्र ‘प्रसाद’ले एक निसन्तान दम्पतीको कथा बोकेको छ । सन्तान नहुँदा एक दम्पतीले समाजमा भोग्नु परेको यातना नै चलचित्र ‘प्रसाद’ को कथा हो । विवाह भएर पनि सन्तान नहुँदा एक दम्पतीले समाजमा कस्ता कस्ता यातना भोग्नु पर्छ ? सहनुपर्छ ? समाजको कस्तो कस्तो कुरा सुन्नुपर्छ ? यही कारणले श्रीमान–श्रीमतीबीच कसरी असमझदरी पैदा हुन्छ भन्ने कुरा चलचित्रको माध्यमबाट देखाउन खोजिएको छ ।

यस्ता घटना सामान्यतया हामीले हाम्रो समाजकै वरिपरी देखिरहेका हुन्छौं तर पनि त्यति वास्ता हुँदन । जब यही विषयलाई चलचित्रमार्फत दर्शकमाझ ल्याइन्छ अनि कति संवेदनशील विषय रहेछ भन्ने विषय आम दर्शकले बुझ्ने गर्दछन् र समाजले राम्रो पाठ सिक्नुका साथै सकारात्मक सन्देश समेत प्रवाह हुन्छ । यही विषयलाई महत्वबोध गर्दै निर्माण पक्षले सामाजिक कथावस्तुमा चलचित्र निर्माण गरेको बताएको छ ।

हाम्रै समाज निसन्तान दम्पतीले भोग्नु परेको यातना हामीले देखिरहेका छौ । त्यही कथालाई चलचित्रको माध्यमबाट देखाएर सकारात्मक सन्देश दिन खोजिएको छ । चलचित्रमा निसन्तान दम्पतीको भूमिका बिपिन कार्की र नम्रता श्रेष्ठले निभाएका छन् । बिपिन र नम्रताले बिपन्न परिवारका निसन्तान दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

चलचित्रमा निश्चल बस्नेतले पहिलो पटक नेगेटिभ क्यारेक्टर निभाएका छन् । चलचित्रको कथा सुशील पौडेलले लेखेका हुन् । सुशिलका अनुसार यो कथा उनले कलेज पढ्दा नै सोचेका थिए जसलाई अहिले पर्दामा उतारिएको छ । चलचित्रलाई सुबाश थापाले निर्माण गरेका हुन् ।