यस्तो छ चंगाको इतिहांस

title
सोमवार, अशोज २९, २०७५

काठमाडौं । दशैंको पर्यायका रुपमा लिइने लिंगे पिङ र चंगाको प्रचलन बिस्तारै हराउंदै गएको छ । दशैंको आधुनिकीकरण हुने क्रमसंगै पिङ खेल्ने र चंगा उडाउने चलन हराउंदै गएको हो ।

पिङ खेल्ने र चंगा उडाउने क्रम घट्दै जादा दशैंको महत्व पनि घट्दै गएको छ । पछिल्ला बर्षहरुमा काठमाडौ उपत्यका आकास र विभिन्न स्थान चङ्गा र पिङ विहीन बन्न थालेका छन् ।

विगतमा मनोरञ्जनका लागि सिमित साधनका कारण चंगा, पिङ तथा कौडाको प्रचलन रहेपनि अहिले प्रविधिको विकासका कारण मनोरञ्जनका विकल्पसंगै चंगा उडाउने र पिंङको संख्या घट्दै गएको हो ।

शहरी क्षेत्रमा दसैंको आगमनसंगै सफा आकासमा फरपराउने चंगा उडाउने खुला स्थानको समेत अभाव हुन थालेको छ ।

चंगा उडाउने ठाउंमा बाटो, रुख, बिजुलीको खम्बा, तारले समस्या पार्ने र चंगा उडाउने पुस्ता समेत घटेर गएको संस्कृतिविद्हरु बताउंछन् ।

चंगा विश्वमा पहिलो उड्ने आविस्कार हो । चंगाको आविस्कार तीन हजार वर्ष पहिले चीनमा भएको मानिन्छ ।

चिनियाहरू चंगा उडाउने र आविस्कार गर्नेमा अग्रपंक्तिमा आउंछन् । चीनका दार्शनीकहरू मोजी र लु बानले रेसमको कपडाको चंगा बनाएर रेसमकै धागोले उडाएको इतिहांस छ ।

त्यसपछि चंगा विश्व मै सोख र रमाइलोका लागि उडाउने परम्परा सुरुभयो । विश्वमा प्रतियोगितात्मक खेलका रुपमा तीव्र गतिमा लोकप्रिय हुंदै गएको चंगा उडाउने खेल नेपालमा भने महत्वपूर्ण चाड दसैं र तिहारसंग बढी जोडीएको छ ।

तर अहिले चंगा उडाउनु निकै दुर्लभ बन्न थालेको छ । चंगा उडाउने परम्परा लोप हुंदै गएपछि विस्तारै नेपालमा पनि महोत्सव र प्रतियोगिताका रुपमा चंगा प्रतिको आकर्षण बढाईंदै छ ।

विज्ञहरुका अनुसार एसिया महादेशका धेरै मुलुकमा चंगा महोत्सव प्रसिद्ध छ । थाइल्यान्डमा व्यावसायिक चंगा प्रतियोगिता आयोजना गरिन्छ । भारतमा पनि चंगा महोत्सव हुन्छ ।

दसैंको समयमा नेपालको काठमाडौं उपत्यकामा पनि चंगा चेट प्रतियोगिता गरिदै आएको छ । संस्कृति तथा धर्मविद्हरुका अनुसार चंगा गौतमबुद्ध जन्मनुअघि नै प्रचलनमा आएको मनोरञ्जनको सामाग्री हो ।

परापुर्वकालमा मानिसहरु चंगा उडाएर भगवानसंग प्रार्थना गर्थे भन्ने धर्मग्रन्थहरुमा उल्लेख छ । यस बाहेक चंगालाई स्वर्ग र धर्तीबीच सुखद सन्देश लिनेदिने विश्वासमा उडाउने मनोरञ्जनको साधन समेत मानिएको छ ।

आकाशमाथि चंगा उडेको देख्दा आंखा तेजिलो हुने विश्वास छ भने धेरै पहिलेदेखि नै चरा धपाउने बुख्याचाका रूपमा, मौसमसूचक सामग्रीका रूपमा र दुष्ट आत्मा भगाउने विश्वासमा चंगामा उडान गरिन्थ्यो ।

अहिले पनि विभिन्न मुलुकमा चंगा उडाउनु सुख समृद्धि कायम राख्नु हो भन्ने विश्वास छ ।