यस्तो बन्ने भयो रानीपोखरी

title
शनिबार, चैत्र २, २०७५

अञ्जना लामिछाने । विनासकारी भुकम्प गएको करिव ४ बर्षपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अलपत्र रहेको रानीपोखरी पुनर्निर्माण विधि तय गरेको छ । पुरातत्वविद्सहितको बैठकले रानीपोखरी पुनर्निर्माण बिधि तय गरेपछि अब बालगोपालेश्वर मन्दिर मल्ल कालीन ग्रन्थकुट शिखर शैलीमै बन्ने छ भने पोखरी क्षेत्र थप आधुनीक बनाईने छ । पुनर्निर्माण प्राधिकरण, काठमाडौ महानगरपालीका र पुरातत्व विभाग बीचको हानाथापका कारण ४ बर्षदेखि अलपत्र रानीपोखरी पुरानै स्वरुपमा बन्ने भएको छ ।

पोखरीको मध्ये भागमा थुप्रिएको बालुवा निकालेर थप एक फिट कालीमाटी राख्ने र माटोको तह तयार भएपछि करीब दुई फिट बालुवा राखेर पानी जम्ने बनाइने छ । प्राधिकरणका अनुसार, पोखरी पुर्ननिमार्णका क्रममा विगतमा पर्खाल लगाउँदा बिग्रेको पोखरीको सतहलाई अब पुरानै तहअनुसार मिलाइनेछ । पोखरीको डिल, पैदलमार्ग, रिटेनिङ पर्खालमा माअप्पा ईट्टा प्रयोग गरिने छ भने पोखरीको संरक्षण एवं निर्माणका क्रममा पूर्व र उत्तरतर्फ समेत ढुङ्गाको पेटी बनाईने छ ।

पोखरीमा आवाश्यक पानीका लागि पूर्वतर्फ डिप बोरिङ गर्ने र ठाउँठाउँमा आकाशे पानी सङ्कलन संयन्त्र निर्माण गरिने छ । सुख्खायाममा पोखरीमा पानी आपुर्ति गर्न मेलम्चीको पाइप लाइन समेत जडान गरिने र पोखरीको माथिल्लो सतहमा हरियाली क्षेत्र बनाईने छ । रानीपोखरीको मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरसँग जोडिएको पुलको निर्माण गर्दा जगदेखि पानीको सतहसम्म ‘ढुंगाको सुख्खा पर्खाल लगाइने छ । पुलको वृत–खण्ड र त्यसमाथिको भागमा लाइम र सुर्खी मोर्टार प्रयोग गर्नुपर्ने विधि तयार भएको छ ।

बालगोपालेश्वर मन्दिर भने प्रताप मल्ल कालीन ग्रन्थकुट शिखर शैलीमै पुनर्निर्माण गर्न पुरातत्व विभागले निर्देशन दिएको छ । सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना पुनर्निर्माणको काम प्राधिकरणलाई दिने निर्णय गरेको डेढ महिना बितिसकेको छ । तर पनि पटक पटक पुर्ननिमार्ण सिलान्यास भएर पनि रोकीएको यो मल्लकालीन सम्पदा अब कहिले तयार हुन्छ भन्नेमा भने प्राधिकरणसंग अहिले पनि स्पष्ट योजना छैन ।