यस वर्ष बालकले छेड्ने भए जिब्रो

title
आइतवार, साउन २७, २०७५

भक्तपुर । भक्तपुर थिमिको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष मध्यपुरथिमी–५, चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्ने भएका छन्। चोडेमा चेंया पुन्हिया मेय प्वा : खनेगु जात्रा व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले लोप हुन लागेको जात्रा र परम्परालाई जीवित राख्न आफूले यस वर्ष जिब्रो छेड्न लागेको बताए।

स्थानीय युवाको पहलमा गत वर्ष बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर रोकिएको जात्रालाई पुनःसञ्चालनमा ल्याएपछि यस वर्ष पनि जात्रालाई निरन्तरता दिन श्रेष्ठ तयार भएका हुन्। श्रेष्ठले आफ्ना काका कृष्ण नानिचा श्रेष्ठले तीन पटकसम्म जिब्रो छेडेकाले आफू पनि यो जात्रा नरोकियोस् र निरन्तरता पाओस् भनेर जिब्रो छेड्न तयार भएको बताए।

वीरेन्द्रभक्तले यस वर्ष आफ्ना पिताको आशोच बारेकाले जिब्रो छेड्न हुँदैन। जिब्रो छेडाउने व्यक्ति मध्यपुरथिमिको श्रेष्ठ थरकै हुनुपर्ने प्रचलन छ। भाद्र शुक्लपक्ष पूर्णिमाको साँझ जिब्रो छेडाएर सञ्चालन हुने जात्राका लागि आवश्यक पर्ने सियो बनाउन आज सियो बनाउनेकर्मी नाय रामभक्त नकर्मीलाई पूजा लगेर भोज खुवाएपछि सियो निर्माण सुरु भएको छ। फलामको १० इञ्च लामो सियोले जिब्रो छेडाउने प्रचलन छ। सियोलाई तेलमा डुबाएर राख्ने प्रचलन छ।

२५ वर्षअघिदेखि बन्द भएर लोप भएको यो जात्रा कृष्ण नानीचा श्रेष्ठले २०५२ मा जिब्रो छेडेर सञ्चालनमा ल्याएर आफैँले विसं ०५७ र ०६३ मा गरी १० वर्षमा तीनपल्ट जिब्रो छेडाएका थिए। किंवदन्तीअनुसार प्राचीनकालमा भूत–प्रेत, पिशाच, ख्याक तथा कंकाल (बउचा) ले थिमिका मानिसलाई धेरै दुःख दिए। यिनीहरुलाई तान्त्रिक विधिबाट पक्रेर जिब्रो छेडी नगर परिक्रममा गरेपछि दुःख दिन छोडेको थियो।