
कीभ । पूर्वी युक्रेनको क्रामाटोर्स्क सहरमा रुसी क्षेप्यास्त्र हमलामा परेर कम्तीमा चार जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार मंगलबार गरिएको हमलामा क्षेप्यास्त्र एउटा रेस्टुरेन्ट र सपिङ सेन्टरमा परेको थियो ।
यो सहर हाल युक्रेनको नियन्त्रणमा रहे पनि यो रुसी नियन्त्रित क्षेत्रको नजिक रहेको छ । अधिकारीहरूका अनुसार मानिसहरू भग्नावशेषमा पुरिएको आशङ्कामा उद्धार कार्य जारी राखिएको छ ।
मारिनेमा एकजना १७ वर्षीया किशोरीसमेत रहेकी छन् । स्थानीय समयअनुसार साँझ साढे ७ बजे यो हमला भएको थियो । हमला गरिएको स्थानमा अपार्टमेन्टहरू पनि रहेका थिए । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरमा भवनहरूमा व्यापक क्षति पुगेको देखिएको छ । अधिकारीहरूले घटनामा कम्तीमा ४० जना घाइते भएका छन् । यसमा ८ महिनाको शिशु र तीनजना विदेशी रहेका छन् ।