युवा क्रिकेटरलाई भोलिबाट जोन्टीको विशेष प्रशिक्षण

title
मङ्लबार, कार्तिक २७, २०७५

काठमाडौं । नेपाली क्रिकेट खेलाडीलाई हाइपर्फमेन्स क्याम्प दिनका लागि नेपाल आएका दक्षिण अफ्रिकी खेलाडी जोन्टी रोट्सले नेपाली युवा खेलाडीमा राम्रो क्षमता भएको तर उनिहरुले त्यस अनुसारको प्लेटफर्म नपाएको बताएका छन् ।

आइतबार काठमाडौं आइपुगेका रोट्सले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालमा जुन किसिमको पूर्वाधार छ त्यो अनुसार खेलाडीको प्रदर्शन उल्लेख्य रहेको बताए । उनले भने ‘नेपाली क्रिकेटमा जुन क्षमता छ त्यो हामीले अन्डर नाइन्टिन लेभलको क्रिकेटमा देखिसकेका छौं ।’ सिमित पूर्वाधार र सुविधाका बाबजुत नेपाली क्रिकेट टिमले भारतजस्तो देशलाई हराएको छ । म र रायन नेपालमा मात्र १० दिनको हाइ पर्फमेन्स क्याम्प भन्दा पनि यो स्तरमा उत्कृष्ट खेलाडी कसरी उत्पादन गर्न सकिन्छ भनेर सल्लाह दिने छौं ।’

उनले नेपालमा क्रिकेट कसरी चलिरहेको छ त्यो बुझ्ने प्रयास गर्ने बताए । ‘अन्डर नाइन्टिन लेभलमा हामी विभिन्न पुलहरु तयार पार्ने छौं, त्यसका लागि हामी विभिन्न स्कुलहरुमा जानेछौं । दक्षिण अफ्रिकामा कसरी उमेर समुहको क्रिकेट चलिरहेको छ, कसरी स्टेट लेभल र विभिन्न प्रतियोगिता भइरहेका छन त्यो बारेमा जानकारी दिनेछौं,’ उनले भने ।

जोन्टीले नेपाल आएर अनुुभव साट्ने अवसर पाएकोमा खुुसी व्यक्त गरे । आइतबार कीर्तिपुर पुगेका उनले त्रिवि क्रिकेट मैदानको खुलेर प्रशंसा गरे । विश्व क्रिकेट इतिहासकै सर्वोत्कृष्ट फिल्डरमध्ये एक मानिने जोन्टीले विशेष रुचीका साथ प्रशिक्षण शिविरमा आउन युवा खेलाडीलाई आह्वान गरे । जोन्टीले नेपालमा रहँदा नेपाल क्रिकेट स्कुलका विद्यार्थी युु—१९, युु—१६ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र सिनीयर क्रिकेट टोलीलाई त्रिवि मैदानमा ‘हाई पर्फर्मेन्स’ नाम दिइएको प्रशिक्षण शिविरमा प्रशिक्षण गराउनेछन् ।

१९९२ देखि २००३ सम्म दक्षिण अफ्रिकाबाट खेलेका जोन्टीले बुधबारबाट दश दिन नेपाली युवा खेलाडीहरुलाई विशेष प्रशिक्षण प्रदान गर्नेछन् । त्यसअघि मंगलबार नेपालका प्रशिक्षकहरुलाई प्रशिक्षण दिने नेपाल क्रिकेट स्कुलका निर्देशक अभिशेक केसीले बताए । राष्ट्रिय टोली र यु–१९ राष्ट्रिय टिमलाई ३–३ सेसन जोन्टीले प्रशिक्षण दिनेछन् । उनले अहिलेसम्म ४७ जनाले प्रशिक्षणका लागि नाम दर्ता गरिसकेको बताए ।

प्रशिक्षण शिविरमा भाग लिन युवा खेलाडीले ५० हजार दर्ता शुल्क बुझाउनुपर्ने व्यवस्था छ । हाई पर्फर्मेन्स शिविरमा सहभागी विद्यार्थीलाई एक वर्ष निःशुल्क प्रशिक्षण गराइने केसीले बताए । इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सको प्रशिक्षण सम्हालिसकेका ४९ वर्षे जोन्टीले दक्षिण अफ्रिकाबाट टेस्टमा २ हजार ५ सय ३२ तथा एकदिवसीयमा ५ हजार ९ सय ३५ रन बनाएका छन् ।