यु–१५ महिला टोली साफ च्याम्पियनसिपको अन्तिम चारमा

title
मङ्लबार, साउन २९, २०७५

काठमाडौं । भुटानमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा नेपाल समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरको छ । सोमबार भएको बंगलादेशविरुद्ध नेपाल ३–० गोल अन्तरले पराजित हुँदै समुह बी को उपविजेता बनेर अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

यसअघि पहिलो खेलमा नेपालले पाकिस्तान विरुद्ध ४–० को गोल गर्दै शानदार शुरुवात गरेको थियो । अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको नेपालले यसपटक भने निकै नै आशालाग्दो प्रदर्शन जारी राखेको छ । बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले हराएको थियो । पाकिस्तान प्रतियोगिताबाट बाहिरएको छ ।

यसैबीच, उपाधिको दावेदार मानिएका भारत समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार चाम्लिङथाङ रंगशालामा भएको समूह ‘ए’ को समूह चरणको अन्तिम खेलमा आयोजक भुटानलाई १–० ले पराजित गर्दै भारत समूह विजेताको रुपमा सेमिफाइलमा पुग्न सफल भएको हो ।

भारतसँग पराजित भए पनि आयोजक भुटान समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको खेलमा भारतकी कप्तान सिल्की देवीले ५७ औं मिनेटमा गरेको गोल नै भारतको जितमा निर्णायक बनेको थियो । अब भारतले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता नेपाल तथा भुटानले समूह ‘बी’ को विजेता बंगलादेशसँग ३१ साउनमा खेल्नेछ ।