यूएईविरुद्धको खेलका लागि अभ्यासमा क्रिकेट खेलाडी

title
बिहिबार, पुस २६, २०७५

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध हुने एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली प्रशिक्षणमा जुटेको छ । नेपाली टोली बुधबारबाट बन्द प्रशिक्षणमा जुटेको हो ।

नेपालले युएई भ्रमणका लागि १६ गते २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । बुधबारबाट बन्द प्रशिक्षण शुरु भए पनि पहिलो दिन सबै खेलाडी उपस्थित थिएनन् । पहिलो दिन नेपाली क्रिकेट टोलीले ललितपुरस्थित निर्वाण वेलनेस सेन्टरमा स्टेचिङ मात्र गरेको थियो ।

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले बिहीबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नियतिम प्रशिक्षण हुने बताए । उनले पहिलो दिन १०–१२ जनामात्र सहभागी भएको बताए । त्रिभुवन आर्मी क्लबका केही खेलाडी मनमोहन स्मृती एकदिवसीय क्रिकेट खेल्नका लागि इटहरीमा भएका कारण पनि पहिलो दिन उपस्थिति न्यून रहेको हो । उनी विहीबार आइपुग्ने र विहीबारबाटै नियमित प्रशिक्षण गरिने बताए । टमाटालाई ब्याटिङ प्रशिक्षक उमेश पटवाल र ट्रेनर सुवास पात्रोले प्रशिक्षणमा सघाउने छन् । नेपालले माघ ११ गतेबाट दुबईमा तीन एकदिवसीय र तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्का र दीपेन्द्रसिंह ऐरी नेपाल क्रिकेटको प्रवद्धन गर्न भन्दै अहिले अस्ट्रेलिया भ्रमणमा छन् । पारस र दीपेन्द्रसिंह शनिबार नेपाल आइपुग्ने र लगत्तै टोलीको प्रशिक्षणमा सामेल हुने राष्ट्रिय क्रिकेट टोलीका प्राविधिक विश्लेषक तथा व्यवस्थापक रमण सिवाकोटीले बताए । बंगलादेश प्रिमियर लिग खेल्नका लागि बंगलादेशमा रहेका सन्दीप लामिछाने भने सिधै युएईको टोलीमा सामेल हुने सिवाकोटीले जनाए ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले खेल्न लागेको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला हो भने ट्वान्टी–२० अन्तर्राष्ट्रिय पहिलो हो । यसअघि नेदरल्यान्ड्ससँग दुई खेलको एकदिवसीय शृंखला खेलेको थियो । उक्त शृंखला १–१ को बराबरीमा टुंगिएको थियो । आइसीसीका प्रतिनिधि अमिनुल इस्लामको संयोजकत्वमा मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट टोलीले छनोट गरेको २० सदस्यीय टोलीमा पवन सर्राफ, भिम सार्की, अविनास बोहरा र सन्दीप जोरा नयाँ अनुहार हुन् ।

टोलीमा पारस खड्का (कप्तान), अविनास बोहरा, बसन्त रेग्मी, भिम सार्की, विक्रम सोब, विनोद भन्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भन्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा र सुसन भारी छन् ।

नेपालले माघ ११ गते, पहिलो एकदिवसीय खेल खेल्नेछ भने माघ १२ गते दोस्रो एकदिवसीय हुने छ भने माघ १४ गते तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ । त्यसैगरी माघ १७ गते, पहिलो ट्वान्टी–२० खेल हुनेछ भने माघ १८ गते दोस्रो ट्वान्टी–२० खेल हुनेछ । त्यस्तैगरी माघ २० गते अन्तिम तेस्रो ट्वान्टी–२० प्रतियोगिता हुनेछ ।