यौनजन्य घटनाविरुद्ध एक महिने अभियान

title
सोमवार, भदौ ४, २०७५

झापा । महिलामाथि हुने यौनजन्य दुव्र्यवहारका घटनालाई कम र रोकथाम गर्न झापामा एक महिने विशेष प्रहरी अभियान सुरु भएको छ।

बलात्कार र महिलामाथि हुने यौनजन्य घटना बढ्न थालेकाले त्यसलाई कम गर्न उद्देश्यले प्रहरीले अभियान सुरु गरेको हो । जिल्लामा यौनजन्य घटना, महिलामाथिको दुव्र्यवहार र अपराधिक घटनामा वृद्धि भएको तथ्यांकमा देखिएकाले अभियान थालिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

जिल्लाभरीका इलाका, वडा, सीमा र प्रहरी चौकीहरुबाट परिचालन हुने प्रहरीको नेतृत्व प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले गर्ने जनाइएको छ। झापामा गत आर्थिक २०७४÷०७५ मा १०६ जनाविरुद्ध ९९ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका थिए। जबरजस्ती करणीमा ३४ जनाविरुद्ध ३४ वटा मुद्दा दर्ता भएका थिए। चालु आर्थिक वर्षको साउन महिना मात्र २४ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ।

विशेष प्रहरी अभियान टोलीमा २३५ प्रहरी खटाइएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार ५० जना सादा पोशाक, ५० वटा मोटरसाइकल गस्ती टोलीमा १०० जना, सात वटा छानबिन तथा तलासी लिने टोलीमा ३५ जना, सात वटा पैदल गस्तीमा ३५ जना र अनुसन्धान टोली १५ जना प्रहरी खटाइएको छ।