रजत पदक विजेता नेपाली प्याराग्लाइडिङ खेलाडी र प्रशिक्षकलाई पोखरामा नागरिक अभिनन्दन

title
मङ्लबार, भदौ १९, २०७५

कास्की । इण्डोनेसियामा सम्पन्न १८औं एशियाली खेलकुदमा रजत पदक विजेता नेपाली प्याराग्लाइडिङ खेलाडी र प्रशिक्षकलाई पोखरामा नागरिक अभिनन्दन सहित सम्मान गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति र नेपाल हवाई खेलकुद संस्था, नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघ र पाईलट क्लबले आज संयुक्त रुपमा सम्मानसहित नगर परिक्रमा गराएका हुन् ।

पोखरा विमानस्थलबाट मुस्ताङचोक, विरौटाचोक, न्युरोड, चिप्लेढुंगा, पृथ्वीचोक हुंदै पोखरा रंगशालामा पुगेर नगरपरिक्रमाको क्रम सम्पन्न भएको थियो । प्याराग्लाइडिङको पुरुष टिम इभेण्टमा विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा सहभागि थिए । महिला तर्फ त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धाका लागि जकार्ता पुगेका थिए ।

नेपाली प्याराग्लाइडिङ टिमले छ वटा पदकमा प्रतिस्पर्धा गरेको थियो । जसमा पुरुष टिमले क्रसकन्ट्रीमा रजत पदक जितेको थियो । नेपालमा प्याराग्लाईडिङ पोखराबाटै शुरुवात भएको हो ।