राजनीतिको फोहोरी खेल र भ्रष्टचार अन्त्य भए देश आफै बन्छ – मन्त्री यादव

title
शुक्रबार, भदौ १५, २०७५

चितवन । उपप्रधान तथा स्वस्थ्य मन्त्री उपेन्द्र यादवले राजनीतिको फोहोरी खेल र भ्रष्टाचार अन्त्य भए देशको मुहार आफै फेरिने बताउनु भएको छ ।

वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरंग भवनको आज उद्घाटन गर्दै मन्त्री यादवले स्वास्थ्य शिक्षा जस्ता संवेदनशिल क्षेत्रलाई राजनैतिक भर्तिकेन्द्र बनाएर देशलाई बर्बाद पार्न नहुने बताउनुभयो ।

विदेशिले निर्माण गरिदिएका संस्थाहरुलाई देखाएर आफ्नो तारिफ र बहादुरी देखाउने परिपाटी अन्त्य हुनुपर्ने उहाँको भनाई छ । देशमा आधारभूत स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने भन्दै मन्त्री यादवले यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा भएको ४ प्रतिशत लगानीले जनतालाई सर्वसुलभ र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न नसकिने मन्त्री यादवले प्रष्ट पार्नुभयो ।

भरतपुर क्यान्सर अस्पतालमा भवन उद्घाटन भएसगै रेडिएशन विभागमा नयां जडान भएको अत्याधुनिक लिन्याक मेसिन, सिटी सिमुलेटर र ब्राकिथेरापी मेसिनको सेवा समेत प्रारम्भ गरिएको छ ।

हाल २ सय बढी शैया संचालन भैरहेको अस्पतालमा नयाँ भवन निर्माणसँगै ४ सय ५० बढि शैया हुने भएको छ । नयाँ भवनमा २५० शैया थपिने भएकाले उपचारका लागि आएका बिरामी फर्कनुपर्ने अवस्था अन्त्य हुने अस्पतालले जनाएको छ ।