राजपाबाट प्रतिनिधिसभा बैठक अवरुद्ध

title
सोमवार, चैत्र ४, २०७५

काठमाडौ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)ले आज (सोमवार) पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

राजपाका सांसदहरुले सर्वोच्च अदालतका पूर्वन्यायधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने भन्दै अबरुद्ध गरेको हो ।

प्रतिनिधि सभाको आज (सोमवार) को बैठक शुरु हुने वित्तिकै राजपाका सांसद अनिल झाले लाल संयोजकत्वको आयोगको प्रतिवेदन सरकारलाई बुझाइसकेपछि पनि सरकारले प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले थरुहट तथा विभिन्न समयमा मधेशमा भएको आन्दोलनका बारेमा उक्त प्रतिवेदनमा सबै कुरा भएकाले सो प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो ।उहाँले सरकारले उक्त प्रतिवेदन लुकाएर सत्य लुकाउन खोजेको र सदनको रुलिङ नमानेर संसदको सर्वोच्चतालाई पनि अटेर गरेको जिकिर गर्नुभयो ।

झाले धारणा राखेपछि राजपा सांसदहरु उठेर विरोध जनाएपछि सभामुख कृष्णवहादुर महराले बैठक स्थगीत गर्नुभएको थियो । रापजाले आइतबार पनि सदन अवरुद्ध गरेको थियो ।