राजपा महाधिवेशन कार्तिक २८ गते बाट सुरु हुने

title
शनिबार, बैशाख १४, २०७६

श्रीकृष्ण सुवेदी । वैशाखमा महाधिवेशन गर्न नसकेपछि राष्ट्रिय जनता पार्टी राजपाले कार्तिक अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ । पटक पटक स्थगित हुंदै आएको महाधिवेशन अब कार्तिक २८ देखि ३० गतेसम्म गर्ने राजपा अध्यक्ष मण्डलले निर्णय गरेको हो ।

६ दिनसम्म बसेको पदाधिकारी समितिको बैठकले नियमित रुपमा महाधिवेशन गर्ने निर्णय राजपाले गरेको हो । राजपाको विधान र निर्वाचन आयोगको पत्र अनुसार असार मसान्तभित्र महाधिवेशन गरिसक्नुपर्ने छ । तर, समयमै काम हुन नसकेपछि राजपाले विधान संशोधन गरेर बाधा फुकाउने निर्णय पनि गरेको छ ।

राजपाले महाधिवेशनका लागि महन्थ ठाकुरको संयोजकत्वमा सबै पदाधिकारी रहने गरी महाधिवेशन तयारी समिति र सबै केन्द्रीय सदस्य रहेको महाधिवेशन मूल आयोजक समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, राजपाले नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन भएको छ । समितिमा सर्वेनद्रनाथ शुक्ल, मानधोज ब्लोन तामाङ्ग, मालामती राना थारु, राजकुमार थापा, केशव झा, रामलाल सुतिहार, हरेन्द्र यादव र अकवाल अहमद सदस्य रहेका छन् ।